काठमाडौं, ३० वैशाख । प्रधानमन्त्रीका लागि आज फाइनल दौड चलिरहँदा बहुमतप्राप्त भन्दा तत्काल कायम रहेको प्रतिनिधि सभाको संख्यालाई मान्ने या प्रतिनिधि सभामा रहने २७५ मध्येको बहुमतलाई मान्ने भन्ने विवाद निस्कने भएको छ । नेकपा एमाले र जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले यो विषय उठाएपछि विवाद निस्कने भएको हो ।
विश्वस्त स्रोतका अनुसार एमालेको ओली समूह र जसपाको ठाकुर समूहले यसबारे राष्ट्रपति विद्या भण्डारीसँग सम्पर्क गरी कुरा उठाएको छ । उनीहरुले बहुमतको प्रधानमन्त्री बन्ने २७५ संख्याको आधा १३८ सांसद संख्या पुर्याउनुपर्ने जिकिर गरेको बुझिएको छ ।
ओलीविरोधी गठबन्धनले एमालेका २० सांसदलाई राजीनामा गराएर भएपनि तत्काल कायम रहेको प्रतिनिधि सभाको सदस्य संख्याको बहुमत पुर्याउन खोजेपछि नयाँ रणनीतिका साथ ओली र ठाकुर समूह लागिपरेको हो । प्रतिनिधि सभाको सदस्य संख्या २७५ को बहुमत पुर्याउन ओली विरोधी गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले नसक्ने आँकलनका साथ उनीहरु लागेका हुन् ।
के छ संविधानमा
संविधानको धारा १०० बमोजिम प्रधानमन्त्रीका लागि विश्वासको मत या अविश्वासको मतका लागि मतदान हुँदा तत्काल कायम रहेको सदस्य संख्याको आधारमा बहुमत पाउने या नपाउने निधो हुने व्यवस्था छ ।
संविधानको धारा १०० अनुसार नै अविश्वासको प्रस्ताव पेश गर्दा या विशेष अधिवेशन माग राख्दा पनि प्रतिनिधि सभामा तत्काल कायम रहेको सदस्य संख्यालाई आधार मानेर प्रतिशतको गणना हुने व्यवस्था छ ।
धारा १०१ अनुसार महाभियोग लगाउँदा पनि तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ । प्रस्ताव पारित गर्न तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमत आवश्यक पर्ने उल्लेख छ ।
संविधानको धारा ९९ बमोजिम मतादनको विषयमा संघीय संसदको कुनै सदमा निर्णयका लागि प्रस्तुत गरिएके जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरुको बहुमतबाट हुने उल्लेख छ । तर, अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन ।
यसरी प्रतिनिधि सभामा हुने सबै निर्णय प्रक्रियामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत भनिएको छ ।
संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्दा तत्काल कायम रहेको सदस्य संख्या उल्लेख नभएको आधारमा ओली र ठाकुर समूहले २७५ कै गणना अनुसार बहुमत पुग्नुपर्ने जिकिर गर्न थालेको बुझिएको छ ।