Logo

सङ्क्रमित पत्रकारको घरमा औषधि पुर्याउँदै पत्रकार महासङ्घ



झापा, ३० वैशाख: झापामा कोभिड–१९ बाट सङ्क्रमित पत्रकारहरुको घरघर पुगेर नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको टोलीले औषधि वितरण र योग विधि सिकाउने अभियान शुरु गरेको छ । शाखाका उपाध्यक्ष केशव भट्टराईका अनुसार झापामा कोरोनाबाट हालसम्म २६ पत्रकार सङ्क्रमित भइसकेका छन् भने १३ जना अहिले होम आइसोलेशनमा रहेका छन् ।

पौष्टिक आहारका रूपमा ओखर, काजुलगायतका फलफुल र औषधिका रूपमा अश्वगन्धा, गुडुची, जेठी मधु, त्रिकटलगायतका १० प्रकारका आयुर्वेदिक जडीबुटी पत्रकारहरुको होम आइसोलेशनमै पुर्याइएको हो ।

शाखाका अध्यक्ष एकराज गिरीले महासङ्घको टोली पोषिलो आहार र औषधिसहित घरघरै पुग्दा सङ्क्रमित पत्रकारहरुको स्वास्थ्य अवस्था बुझ्न र आवश्यकताबमोजिम चिकित्सकीय सुविधाका लागि पहल गर्न सजिलो भएको बताए ।

कोभिडसँग जुधिरहेका बेला पत्रकार महासङ्घको टोलीले होम आइसोलेशनमै आएर पौष्टिक आहार, जडीबुटी र विज्ञ परामर्श उपलब्ध गराउँदा आत्मबल उच्च भएको कान्तिपुर दैनिकका झापा समाचारदाता पर्वत पोर्तेलले बताए ।

पत्रकार महासङ्घको झापा शाखाले कोभिडका हजारौँ बिरामीको उपचार गरिसक्नुभएका चितवन अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा गोविन्द कँडेलसँग कोरोना सङ्क्रमणबाट बच्ने उपाय र सङ्क्रमितले स्वास्थ्य हेरचाहमा ध्यान दिनुपर्ने विषयमा भर्चुअल परामर्श सेवा प्रदान गरिसकेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्