Logo

सङ्क्रमितलाई घरमै अक्सिजन सिलिण्डर



झापा, ३० वैशाख: झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरभित्र होम आइसोलेशनमा रहेका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिण्डर पुर्याउने अभियान शुरु गरेका छन् ।

कनकाईमा हाल १६० कोभिड सङ्क्रमित होम आइसोलेशनमा रहेका छन् । उनीहरुलाई आवश्यक पर्ने चिकित्सक, औषधि र अक्सिजन सिलिण्डर घरमै पुर्याउन शुरु गरिएको नगरप्रमुख पोखरेलले बताए ।

नगरमा २० शय्याको आइसोलेशन कक्ष सञ्चालनमा ल्याइएको छ । होम आइसोलेशनमा रहेका नगरवासीलाई थप स्वास्थ्य सुविधा आवश्यक परेमा जुनसुकै बेला नगरको आइसोलेशन कक्षमा लैजाने व्यवस्था मिलाइएको र अझ बढी स्वास्थ्य सेवा जरुरत भएमा प्रदेश नं १ को जुनसुकै सुविधासम्पन्न अस्पतालमा पुर्याउने व्यवस्था नगरपालिकाले नै गरेको नगरका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए ।

नगरप्रमुख आफैँ अक्सिजनको सिलिण्डर बोकेर सङ्क्रमितको घरमा पुग्दा स्वास्थ्य सेवामा परिचालित स्वास्थ्यकर्मीको टोलीमा हौसला बढेको र नगरवासीमा आत्मबल उच्च भएको नगरका कोरोना फोकल पर्सन अधिकारीले बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्