काठमाडौं, ३० वैशाख । जनता समाजवादी पार्टीका १९ सांसदले सरकार निर्माणका लागि गठबन्धन निर्माणमा नरहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएका छन् । उनीहरुले जसपा कसैको पक्षमा नरहेको भन्दै पत्र पठाएका हुन् ।
जसपा अध्यक्ष महन्थ ठाकुर पक्षधर १९ जनाले हस्ताक्षरसहित पत्र पठाएको उक्त समूहका एक नेताले बताए । १९ जनाकै हस्ताक्षर रहेको दाबी गरिएको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । उनीहरुले पार्टीको आधिकारिक लाइन नै आफूहरुको रहेको समेत दाबी गरेका छन् ।
पत्रमा हस्ताक्षर गर्नेहरुमा उपेन्द्र यादव समूहमा यसअघि रहेका तीन सांसद समेत रहेको बुझिएको छ । कलुदेवी विश्वकर्मा, रुही नाझ र चन्द्रकान्त चौधरी पनि ठाकुर समूहमा देखिएका हुन् । यसअघि यी तीन सांसदको अपहरण भएको भन्दै एमाले नेता महेश बस्नेतले जसपा नेता डा. बाबुराम भट्टराईमाथि आरोप लगाएका थिए ।
जसपाभित्र ३ सांसदले महन्थ ठाकुरको पक्ष लिएपछि सत्ता संघर्ष रोचक मोडमा पुगेको छ । अब एमालेको माधव नेपाल समूहका २० सांसदले राजीनामा दिएपनि बहुमतका लागि एक सांसद कम भएको छ ।
महन्थ ठाकुर पक्षमा रहेको सन्देश दिने गरी हस्ताक्षर गर्ने सांसद
महन्थ ठाकुर
राजेन्द्र महतो
शरतसिंह भण्डारी
इकवाल मिया
विमल प्रसाद श्रीवास्तव
अनिलकुमार झा
अमृता अग्रहरी
चन्दा चौधरी
चन्द्रकान्त चौधरी
उमाशंकर अरगरिया
दुलारी देवी खंगा
नरमाया ढकाल
रुही नाझ
निर्जला राउत
राजकिशोर यादव
रानी मण्डल
लक्ष्मणलाल कर्ण
प्रमोद साह
कलुदेबी बिश्वकर्मा