Logo

महन्थको ‘यु टर्न’, ओलीलाई रोक्न सक्ने



काठमाडौं, ३० वैशाख । दिउँसोसम्म जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः प्रधानमन्त्री नियुक्तिमा मुख्य सहयोगी हुन् भन्ने देखिन्थ्यो । उनले ओलीविरुद्ध बहुमतको गठबन्धन बन्न नदिन भूमिका समेत खेले ।

२७ वैशाखमा बहुमतको सरकार गठनका लागि उपेन्द्र यादवले जसपा अध्यक्षको हैसियतले काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै गरेको हस्ताक्षर गरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई लेखेको पत्रमा आपत्ती जनाए । उनले सोही दिन अर्को पत्र लेखी राष्ट्रपति भण्डारीलाई जसपा सत्ताको खेलमा नरहेको बताए ।

आज दिउँसोसम्म पनि ठाकुर आफूसँग १९ सांसद रहेको दाबीसहित प्रस्तुत भए । बहुमतको सरकार गठनमा जसपा सहभागी नरहेको भन्दै राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित पत्र लेखे ।

काँग्रेस सभापति शेरबहादुर देउवाले भेटेर ठाकुरलाई सहयोगको आग्रह गरे । तर, उनले अस्वीकार गरिदिए ।

अपरान्हसम्म आइपुग्दा सत्तासंघर्षले नयाँ मोड लिएको छ । एमालेका माधवकुमार नेपाल समूहका २० प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने सम्भावना टर्दै गयो । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच चपली हाइटमा निर्णायक वार्ता शुरु भयो । यो घटना विकास भएपछि देउवा र प्रचण्ड झस्किए ।

प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ पुगे । अब उनीहरु ओलीलाई फेरि बहुमतको सरकारको प्रधानमन्त्री बन्न नदिने रणनीति बनाउन लागेका छन् । विश्वस्त स्रोतका अनुसार देउवा र प्रचण्डले ओलीको विकल्पमा जानुपर्नेमा सहमति गरिसकेका छन् । त्यसका लागि सम्भवत महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव जान सक्छ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुपर्नेमा जोड दिइसकेको बुझिएको छ । यसअघि काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले यो विषय उठाइसकेका छन् । अब ठाकुरको प्रधानमन्त्रीको दौडमा रोचक तरिकाले प्रवेश भएको छ । उनी ओलीलाई रोक्ने अस्त्र बन्न सक्ने सम्भावना बढेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्