काठमाडौं, ३० बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँगको चार घण्टा लामो भेटवार्ता सकेर बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको लागि छलफल गर्न ठाकुर र महतो त्यहाँ पुगेका हुन्।
सत्ता समिकरणमा ठाकुर पक्ष निर्णायक बनेको छ। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले वैकिल्पक सरकार गठनको लागि प्रयास गर्दापनि ठाकुर पक्षको असहमतिका कारण जसपाले कुनै निर्णय दिन सकेको थिएन । फलस्वरुप कांग्रेसले सरकार बनाउने दाबी नगर्ने निर्णय गरेको छ।
अब राष्ट्रपतिले संविधानको धारा ७६ को ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेताको हिसाबले ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् । प्रधानमन्त्रीले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अल्पमतको सरकारमा सहभागी हुनको लागि ओलीले ठाकुर महतो पक्षलाई आग्रह गरेको बुझिएको छ । File Photo/ReportersNepal