Logo

कोभिडसँग जुध्न थप कदम चाल्न आवश्यक छ : एम्नेस्टी



काठमाडौँ, ३० वैशाख: एम्नेस्टी इन्टरनेसनलले दक्षिण एसियाका सरकारहरूले स्वास्थ्य सेवासम्बन्धी अभावहरूलाई तत्काल संबोधन गरी यस क्षेत्रमा कोभिड–१९ को तीब्र सङ्क्रमणविरुद्ध प्रतिकार्यका लागि अति शीघ्र स्वास्थ्य प्रणालीलाई सुदृढ पार्नुपर्ने जनाएको छ ।

सो संस्थाले आज वक्तव्यमार्फत कोरोना सङ्क्रमण महामारीलाई भारत र नेपालको स्वास्थ्य प्रणाली धान्न नसक्ने विन्दुमा पुगेको भन्दै दक्षिण एसियाका अन्य देशहरूमा देखिएको तयारीपनको अभावप्रति पनि चासो व्यक्त गरेको हो । दक्षिण एसियामा विद्यमान अत्यन्तै न्यून खोपको दरले पनि यस क्षेत्रलाई अत्यन्तै जोखिमतामा पु¥याएको उल्लेख गर्दै एम्नेस्टी इन्टरनेसनलले खोपमा समान पहुँच सुनिश्चित गर्नका लागि विश्वव्यापी रूपमा दबाबमूलक कार्यहरूको खाँचो रहेको समेत औंल्याएको छ ।

एम्नेस्टी इन्टरनेसनलका एसिया प्यासिफिक निर्देशक यमिनी मिश्रले आगामी दिन र हप्तामा दक्षिण एसिया र विश्वका अन्य मुलुकका सरकारहरूले लिने निर्णयहरू कोभिड–१९ सङ्क्रमणमा भएको यो पछिल्लो वृद्धिबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि महत्वपूर्ण हुने उल्लेख गरेका छन् । विश्व जनसङ्ख्याको एक चौथाईको बसोवास भएको दक्षिण एसियामा कोभिड–१९ महामारीको नयाँ वैश्विक केन्द्रविन्दु बनिरहेको जनाउँदै सो संस्थाले भारतले अक्सिजनको निर्यातमा रोक लगाएपछि नेपालले अतिरिक्त आपूर्ती व्यवस्था मिलाउन सङ्घर्ष गरिरहेको समेत उल्लेख गरेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्