सर्लाही, ३१ वैशाख: सर्लाहीको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो । त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
बरथवा नगरपालिका–३ अन्तर्गतको भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर३०एस ९२४५ नंको भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भाटले बताए । पक्राउ परेका वडाध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।-रासस/File Photo