Logo

प्राकृतिक जीवनशैलीमा बेफाइदा के छ ?                    



-अभय श्रेष्ठ  :  हुन त अचेल ओरिएन्टालिस्ट विज्ञानको वकालत गर्नेहरूले पूर्वीय प्राकृतिक चिकित्सा र जटिबुटीले काम गर्छ भन्ने कुनै प्रमाण भेटिएको छैन भनेको खुब सुनिन्छ । तिनले बेसार, लसुनले चिसोले हुने रोगविरुद्ध प्रतिरोधी क्षमता बढाउँछन् भन्ने कुरामा समेत प्रमाण भेटिएको छैन भनेको सुन्छु । उनीहरू योग र प्राणायामले फोक्सो, मुटुलाई बलियो पार्ने र शरीरमा अक्सिजनको मात्रालाई सन्तुलित राख्छ भन्ने कुरामा समेत प्रश्न उठाउँछन् कि भन्ने डर लाग्छ । खास विज्ञान बुझ्ने यिनै हुन् भनेर अर्काथरी तिनैलाई धाप दिनेहरू यतातिर उत्तिकै छन् ।
म विज्ञान वा प्राकृतिक चिकित्साको औपचारिक अध्ययन गरेको मान्छे होइन । प्राकृतिक उपचारबारे मेरो पछिल्लो अनौपचारिक अध्ययन पनि अत्यन्त न्यून हो भन्ने मलाई थाहा छ । तर, कोरोना आतंकले सीमा नाघेको बेला म आफ्नो थोरै अनुभव यहाँ सुनाउन चाहन्छु जुन तपाईंलाई पनि उपयोगी होला भन्ने ठानेको छु ।
१.म प्रत्येक बिहान साढे ४ बजे उठ्छु ।
२.उठ्नेबित्तिकै कुलकुल समेत नगरी अघिल्लो रात नै तामाको जगमा राखेको बासी पानी एक लिटर पिउँछु । त्यसले पेट सफा हुने गरी दिसा हुन्छ ।
३.त्यसपछि झन्डै एक घन्टाको उकालो बाटो जंगलतिर हिँड्छु । (अरु बेला भए योग साधना केन्द्र जान्थेँ, अचेल बन्द छ ।)
४.माथि अनन्तलिंगेश्वरको शिखरमा पुगेर ४५ मिनेट जति भस्त्रिका, कपालभाती, विद्युत् प्राणायाम, अनुलोम विलोम, उज्जाई, भ्रामरी, उद्गीत प्राणायाम गर्छु । त्यसले बन्द नाक, लगायत शिरको सबै तनाव खुलाइदिन्छ र दिनभरि नै शरीरलाई चराझैँ उडुँ उडुँ बनाउँछ ।
५. खाना खाँदा पानी पटक्कै खान्न । डेढ घण्टापछि मात्र खान्छु । खानासँग तीन बिजुला लसुन, एक टुक्रा प्याज अनिवार्य । हरेक खानामा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, चिल्लो र फाइबरको मात्रा सन्तुलित (जस्तो: भात वा रोटी कार्बोहाइड्रेट, दाल वा गेडागुडी प्रोटिन, साग भिटामिन, खनिज र फाइबर, अचार भिटामिन सी,) । बिहान चियाको साटो हट लेमन । बिहान र दिउँसोको खाना पेटलाग्दो । साँझको खाना बिहानको दाँजोमा ठ्याक्कै एक चौथाइ मात्र ।
खेतीपातीको बेला र बाहिरको यात्रा गर्दाबाहेक विगत छ वर्षदेखि मेरो नियमति दिनचर्या करिब यही छ । त्यसअघि म टन्सिल, रुघाखोकी, ज्वरोको नियमित ग्राहक थिएँ । एक पल्ट टन्सिल हुँदा झन्डै एक महिनासम्म हैरान पार्थ्याे । एन्टिबायोटिक त कति खानू ! रुघा लाग्नासाथ पिनास भइछाड्थ्यो । ज्वरो आए पनि हत्तपत्ती निकै नहुने । आज पनि यदाकदा मलाई ती समस्या नहुने होइनन् तर ती तीन घण्टाभित्र बिदा भइसक्छन् । चिसोले रुघा वा खोकी लाग्न खोजे बिहान, दिउँसो बेसार पानी तताएर खान्छु, प्राणायाम गर्छु, चट्टै हुन्छ । ग्यास्ट्राइटिसले पेट दुखे पनि त्यसले नै चट्ट पार्छ । खोकी लागे सुत्ने बेला एक गिलास तातो दूधमा एक चम्चा बेसार खान्छु, चट्टै हुन्छ । आजसम्म स्वस्थ भएको पनि यही प्राकृतिक जीवनशैलीले हो जस्तो लाग्छ ।
कोरोना आतंकको बेला तपाईं पनि सकेसम्म यही दिनचर्या अपनाउनुस् भन्ने मेरो आग्रह छ । तपाईंलाई थाहै छ, आफ्नो शरीरको सुरक्षा आफैले गर्न नसके वा अस्पताल जानुपरे अहिले कति सकस छ । अरू नसके पनि हरेक बिहान भस्त्रिका, कपालभाती र अनुलोम विलोम कम्तीमा पाँच-पाँच मिनेट गर्नुस् । स्वच्छ र हरियाली वातावरण भेट्नेबित्तिकै लामो, गहिरो श्वास–प्रश्वास लिनुस् । कोरोनाबाट बच्न स्वास्थ्यका सबै सावधानी अपनाउनुस् । यति गर्न सकियो भने कोरोनालाई रोकथाम गर्न सकिने सम्भावना धेरै छ ।
यो कुरा म विश्वासपूर्वक किन भनिरहेको छु भने कार्डियोलोजिस्ट (मुटुरोग विज्ञ डाक्टर) आफै हर्ट अट्याकबाट, नेफ्रोलजिस्ट (मिर्गौला रोग विज्ञ डाक्टर) आफै मिर्गौला रोगबाट, युरोलोजिस्ट (पिसाब रोग विज्ञ) पिसाबकै संक्रमणबाट, कोरोना पत्ता लगाउने डाक्टर आफै कोरानाबाटै बितेको हामीले देखेका, सुनेका छौँ । तर, योग साधना गर्नेहरू त्यसरी अनपेक्षित रूपमा बितेका वा तिनलाई कोरोनाले सताएको मैले सुनेको छैन । यो बेग्लै कुरा हो, अपवाद स्तरमा जुनसुकै कुरा हुन सक्छ ।
अँ त अन्त्यमा एउटा कुरा भन्छु– एलोपेथीका डाक्टरले टेन्सारिनलगायत हाई बीपीको ओखतीलाई मान्यता नदिएको मैले खुबै सुनेको छु । तिनले भन्दैमा त्यो औषधिले बीपी ओराल्दैन भन्ने त हैन, कति सजिलै ओराल्छ । (तर, पर्दा तिनै डाक्टरले आयुर्वेदिक औषधि प्रयोग गर्छन् भन्ने धेरै सुनिएको छ ।)
लौ त, सबै जना स्वस्थ रहौँ । रोग लाग्नुभन्दा रोकथाममै जोड दिऊँ । पाएसम्म कोरोनाको दुवै डोज खोप लगाऊँ । कोरोनाबाट बच्न स्वास्थ्यका सबै सावधानी अपनाऊँ । साथमा, प्राकृतिक रूपले नै एन्टिबडी बिकास गर्न कसरत र प्राणायाम गरौँ ।
तपाईं भन्नु होला, तँ त कवि, लेखक, त्यसकै साधनामा नलागेर किन यस्तो लेखेर बस्छस् ? हेर्नुस्, अक्सिजनकै अभावमा कोरोनाले मान्छे यसरी चरा–मुसाझैँ मरिरहेको देख्दा अनि सरकार, प्रतिपक्ष र नेताहरू सूचना नपाएझैँ कुटिल मुस्कान छाडेर बसेको देख्दा राँको बोकेर सिंहदरबारतिर दौडूँझैँ लाग्छ । मानवतालाई माया गर्नेहरू यस्तो बेला को चुपचाप र शान्त भएर बस्न सक्ला ?  Photo Source: http://www.hopkinsfamilychiropractic.com/


प्रतिक्रिया दिनुहोस्