काठमाडौं, १ जेठ । नेकपा एमालेमा माधवकुमार नेपाललाई सहमतिमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको कदम रणनीति मात्र हो या गम्भीरताका साथ चालिएको कदम हो केही दिनभित्रै प्रष्ट हुन्छ । ओलीले नेपालसँग बितेको दुई दिनमा दुईपटक भेटवार्ता गरेका छन् । छलफल भएको छ तर सहमति निस्किएको छैन ।
एमालेभित्र कार्यदल बनाएर जेठ २ २०७५ लाई टेकेर जाने मौखिक सहमति भएको छ । तर, त्यसको अन्तिम खाका तयार भएको छैन । कार्यदल बनाएर खाका बनाउने र शिर्ष नेताले निष्कर्ष निकाल्ने तय भएको छ ।
कार्यदलले सुझाव दिन समय लगाएमा आशंकाहरु बढ्न सक्छ । किनभने एमालेभित्र सहमति नभएको छलफल मात्र भएको नेता भीम रावलले प्रष्ट पारिसकेका छन् ।
ओलीले नेपाल समूहलाई अलमलाउन मात्र खोजेको कतिपयको आशंका छ । कम्युनिस्ट पार्टीमा लामो समय लागेका पूर्वमन्त्री राधाकृष्ण मैनालीले माधव नेपाललाई ओलीले फेरि अलमलाएको बताइसकेका छन् ।
अब माधव नेपाल ओलीले विश्वासको मत लिने समयसँग मजबुत रहन सक्छन् । विश्वासको मत लिन नसके संविधानको धारा ७६ को उपधारा ५ बमोजिम फेरि बहुमतको सरकार निर्माणको आव्हान राष्ट्रपतिबाट हुन सक्छ । त्यो अवधिसम्म मात्र नेपालसँग बलियो बार्गेनिङ पावर रहन सक्छ । त्यसैले नेपालले ओलीसँग सहमतिका लागि बलियो बार्गेनिङ गर्ने ठाउँ धारा ७६ (५) सम्म मात्र रहन्छ ।