Logo

गुमाउँदै छु गुरुहरू !



महेन्द्र पी लामा : दार्जीलिङको बतासेडाँडाको मास्तिर गान्धीरोडमा लामो न्यानो कालो कोट लगाएर विस्तारै हिँडिरहेको मान्छेलाई ठम्याउन निकै गाह्रो पर्यो । मेरो मनले भन्यो, ‘यो कोट त मैले कहीँ देखेको हो ।’ अगाडि गई गाडी रोकेँ, हाम्रा कविराज सर हुनुहुँदो रहेछ । हतारहतार नमस्कार गरेर आफ्नो परिचय दिएँ । निकै घोरिएर हेरेपछि गुरुबाले मलाई अँगालो हाल्नुभयो । ३२ वर्षअघि त्यही कालोकोट लगाएर उहाँ हामीलाई टर्नबुल स्कूलमा हिसाब पढाउनु हुन्थ्यो । हामीलाई गणित सँगसँगै गान्धी खुट्टै पाठशाला गएका विद्यार्थीलाई ज्ञान दिनुमा गहिरो आत्मसन्तुष्टि महसूस गर्दथे । शिक्षकको धर्म नै शिक्षा प्रदान गर्नु , तर केवल पुस्तक र पाठ्यक्रम भित्रको होइन । जीवनलाई राम्ररी जिउने कला सिकाउने शिक्षा देखि आफूले पाएको शिक्षा र ज्ञान अरूलाई बाँड्नुपर्छ भन्ने मूल्यसमेत उहाँहरूले हामीलाई सिकाउनु भयो ।

सिंहमारीको स्कट्स मिशन प्राथमिक स्कूलका प्रधान अध्यापक कार्थक सर र सावित्री गुरुमा कक्षा शुरु हुनुभन्दा आधा घण्टा अघि नै स्कूल पुग्नुहुन्थ्यो । साफ–सफाइ हेरिन्थ्यो, प्रार्थना सभा हुन्थ्यो, राष्ट्रिय गीत गाएपछि मात्रै पढाइ शुरु हुन्थ्यो । कार्थक सर सोझे तर कडा ! दिउँसो नजिकैको ठुटे बजारमा भोटिनीको दोकानमा खाजा खान जानुहुन्थ्यो । हामी स्कूल परिपरि छरिएका कागजको पोकोलाई प्लाष्टिकले बेरेर; सुतलीले टनटन्ती बाँधेको बल र ढुङ्गाको गोलपोष्ट बनाई फूटबल खेल्थ्यौँ । हर्ली–मल्ला–जशोदागिरी कपमा खेल्ने खेलाडी भई टोपल्थ्यौँ । त्यतिको आनन्द र अलौकिक मजा फेरि कहिल्यै पाउन सकिनँ । प्राथमिक स्कूल खेलेरै बितायौँ । अहिलेका नानीहरूले जस्तो पुस्तक, खाता र व्यागको बोझ कहिल्यै बोकेनौं ।

सिंहमारीदेखि बजारको टर्नबुल स्कूल हिँडेर जान सक्ने भयौँ । अग्ला र सुन्दर महेन्द्र सर; जो प्रधान अध्यापक पनि हुनुहुन्थ्यो, उहाँले चिनियाँ भाषा सिकाउनु हुन्थ्यो । दौरासुरुवाल र टोपी लगाएर घुरपिसको लौरो बोकी हरेक बिहान स्कूलको मैदानमा आधा घण्टाको रमाइलो जमघट गराउने उप–प्रधानअध्यापक हेमचन्द्र सर अचम्मै स्वभावको हुनुहुन्थ्यो । भित्तामा लौरो ठोकीठोकी लय मिलाउँदै ‘लडाइँ हुँदैछ, शत्रु आउँदैछन्, वीर सिपाही हो मसीहको’ र ‘वेन टर्नबुल बोरज्गो मार्चिङ्ग अन, दियर वील वी ए न्यू टुमरो’ स्कूलेगीत सबैलाई सिकाउनु हुन्थ्यो र सबैले गाउँथ्यौँ ।

एनवी देवान सरले अङ्ग्रेजी व्याकरण, दीक्षित सरले गणित, शङ्कर सरले भूगोल र पीपी राई सर, लक्खी– खालिङ–चन्द्रकान्त–कुमाई सरहरू सबैले चाख मानेर पढाउनु हुन्थ्यो । नजिकैमा रिंक र क्यापिटल सिनेमा घरहरूमा बबी, एक फूल दो माली, स्याटरडे नाइट फीभर, लभ स्टोरी, रगुड, ब्याड एण्ड अग्ली हेर्न भनी स्कूलबाट भागेर जानेहरूलाई बाटोमा लस्कर लगाई ‘धुलाई ‘ दिइन्थ्यो । छेवैको नेपालीगल्र्स स्कूलका केटीहरू त्यो दृश्यको खुब मज्जा लिन्थे ।

दार्जीलिङको बर्खेझरी र त्यस माथि एउटै श्रेणीमा ५०– ६० विद्यार्थीहरू  ! दुर्गन्ध त फैलिन्थ्यो नै । अल्लरे बल्लरे हामी ठिटाहरूलाई के को दुर्गन्ध ? तर थ्री पीस सुटमा डबल नटको टाई बाँधी टिमिक्क कपाल कोरेका पारस आले सर चाहिँ कक्षामा पस्नुअघि नै औँलाले आफ्नो नाक निमोठ्नुहुन्थ्यो । पस्नासाथ आज तिमीहरूले मराठा अगरबत्ती जलाएनौ कि क्या हो भनी सोध्नुहुन्थ्यो । सबैले दुई–दुई पैसा दिई अगरबत्ती किनेर ब्ल्याक बोर्डमा बाल्नु नै पथ्र्यो । पारस सर जस्तो सफा मान्छे स्वास्थ्य शिक्षाका नमूना नै थिए ।

स्कूल सकेर फेरि नजिकैको सन्त जोसेफ कलेज गयौँ । अहिलेसम्म प्रोटेस्टान्ट स्कूलमा पढेका हामीले क्याथोलिक कलेजमा प्रवेश गर्दा केही पनि अन्तर पाएनौँ । विभिन्न राज्य र राष्ट्रहरूबाट आएका विद्यार्थीहरूसँग अचानक जुझनु परयो । अङ्ग्रेजी बोल्न र सिक्न करै लाग्यो । कलेजको स्तर निकै माथि, हामीलाई निक्कै हम्मे परयो । आफ्नो ल्याकतको परीक्षा पनि ‘भो । त्यहाँ पनि शिक्षकहरू अति नै परिश्रमी र लगनशील, पढ्नै पर्ने भो । अर्थशास्त्रमा अनर्स गर्ने हामी अझै व्यस्त हुने भयौँ । जेरार्ड मुखिया सरले समको प्रल्हाद, देवकोटाको कल्पना निबन्ध र लेखनाथको तरुणतपसी भित्रका शब्द–शब्दको विश्लेषण गर्नु हुन्थ्यो । मिस उनले अङ्ग्रेजी पढाउँदा ध्यान नदिनेलाई ‘परीक्षाफलमा लड्डु पाउँछौ’ भन्दै दुई सुलुक्क परेका औँला जोडी डल्लो बनाउँदै हामीलाई इशारा गर्नु हुन्थ्यो ।

सेतो धोती लगाएका चक्रवर्ती सरले कर प्रणाली पढाउँदा सबै झुल्थ्यौं । क्यालिफोर्निया विश्वविद्यालयमा डाक्टरेट गरेर आउने डा. सरकार यति भुलक्कड थिए कि एक दिन पोस्ट अफिसमागई चिठ्ठी हाल्नुको सट्टा आफ्नो कालो फाउन्टेन पेन पोस्ट गरे छन् । सबै हाँस्यौँ । तर कस्तो विद्वान् मान्छे, मलाई शोधकार्य प्रति झुकाव बढाउने अधिकांश श्रेय नै उहाँलाई दिन्छु । हामी गुरु– शिष्य मिली दुईतीन वटा पुस्तकहरू पनि लेख्यौँ ।

फिलिप गुरुङ सर सबैको प्यारो । सीबी राई– क्याप्टन लाल–फादर भ्यान–पापाडील–एनवी राई सरहरूले धेरै दिए, केही लिएनन् । कलेज परतिर को बडीको चिया दोकानमा बन–अण्डा यति स्वादिष्ट बनाइन्थ्यो कि विदेशको यति धेरै यात्रापछि पनि बडीकोमा नै जान मन पर्छ । बडी स्वर्गवास भएर कहाँ पुगे, तर त्यो चियापसलको तस्बिर हामीभित्रै छ ।

धेरै पाएँ मैले मेरा गुरुहरूबाट तर केही दिन सकिनँ उनीहरूलाई । स्वर्गवास भएका कतिपय गुरुहरूले एउटा विद्यार्थीलाई भने शिक्षककै पेशामा ल्याउन सक्यौँ भन्दै होलान् शायद । मेरा जीवित गुरुहरूले चाहिँ मैले अघि ल्याएका देश–विदेशका विद्यार्थीहरूलाई सोध्ने गर्छन् रे, ‘तिम्रो शिक्षकले कस्तो पढाउँछ ?’ यी विद्यार्थीहरूसँग कहिलेकाहीँ भेट हुँदा मेरा जीवित गुरुहरूले गरेका हाम्रा तीता–मीठा कुराहरू सुनाउँछन् । हर्षले ओतप्रोत हुन्छु, कृतज्ञता पोख्न चाहन्छु, सम्झना र स्मरणले विह्वल हुन्छु । धेरै बितेर गए, अब धेरै रहेका छैनन् पनि । तर एउटा आश्वासन दिन चाहन्छु, उनीहरू सबैलाई । शिक्षा र शिक्षकको परम्परालाई अनिकालमा बीउ जोगाए झैँ जतन गरी राख्नेछु । रोप्दैछौँ त्यस्ता धेरै बिरुवाहरू, छर्दैछौँ अनेकन् बीउहरू– हामीलाई यहाँसम्म पुरयाउने गुरु– गुरुमाहरूले निर्माण गरेका सुन्दर बगैँचाहरूमा । Photo Source: IndianGorkhas



प्रतिक्रिया दिनुहोस्