Logo

अक्सिजन सिलिन्डरको ग्यारेन्टी नभई अस्पतालले भर्ना लिदैनन्



काठमाडौं, २ जेठ । कोरोना भाइरसका संक्रमितमा श्वास प्रश्वासको समस्या बढेपछि परिवारले राजधानीका अस्पतालहरुमा फोन घुमाउन थाले । तर, कुनैपनि अस्पतालले भर्ना लिन मानेनन् । कतिपयले अक्सिजनको ग्यारेन्टी गर्न नसकिने बताए । विरामी भर्ना लिएपनि अक्सिजनको जोहो परिवारले नै गर्नुपर्ने स्पष्ट जवाफ दिए ।

विरामीका आफन्त अक्सिजनको जोहो गर्ने ग्यारेन्टी दिएर बल्खुको एक अस्पतालमा भर्ना भए । राजधानीका अस्पतालमा अक्सिजनको अभाव हुँदा यस्तै स्थिति पैदा भएको छ ।

ललितपुरको सोपान मेडिकल अक्सिजनमा दुई दिन उत्पादन बन्द भयो । मेशिनको पार्टस् बिग्रेर बन्द भएपनि अक्सिजन सिलिन्डर बोकेर कम्पनीमा पुग्नेको भीड लाग्यो । उनीहरु रित्तो सिलिन्डर लिएर फर्किए ।

आजबाट अक्सिजन कम्पनी सुचारु भएको छ । कम्पनीमा अक्सिजन लिन आउने सवारी साधानको भीड लाग्न थालेको छ । मोटरसाइकलमा अक्सिजन ओसार्ने आफन्तको संख्या पनि उत्तिकै देखिन्छ ।

स्वास्थ्य मन्त्रालयले अक्सिजनको जोहो विरामीका आफन्तले नभई अस्पतालले गर्नुपर्ने बताएको छ । आज मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालले नै अक्सिजनको जोहो गर्नुपर्ने बताएपनि यथार्थ फरक छ । अक्सिजनको जोहो गर्न नसक्ने आफन्तले अस्पतालमा भर्ना नै पाउँदैनन् ।

अक्सिजन समयमै नपाउँदा कतिपय विरामीको मृत्यु भएको छ । कतिपयले अक्सिजन पाइरहेको र अभावमा निरन्तर नपाउँदा जीवन गुमाउनुपरिरहेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्