Logo

अबिच्युरी : पोखरामा ट्याक्सी चलाउँथे चेतन कार्की



चैत ३१ गते घरव्यवहार मिलाउन देहरादुन (भारत) गएका थिए, ख्यातिप्राप्त फिल्म लेखक, निर्देशक, कवि, गीतकार, उपन्यासकार चेतन कार्की । वैशाख १७ गते भैरहवाको बाटो हुँदै फर्किंदा कार्कीले चार घन्टासम्म लगेज बोकेर हिँड्नुपर्यो । सम्भवतः त्यही बेला कोरोना संक्रमित भएका उनी एक साताअघि सैनिक अस्पताल छाउनीमा भर्ना भए । कोरोनाले नै उनलाई मृत्युको मुखमा धकेलिदियो ।

श्रीमती, छोरासहित परिवारका अन्य सदस्यहरुलाई आइसोलेसनमा राखेर जेठ २ बिहान साढे १० बजेतिर मृत्युवरण गरेका कार्की ८४ वर्षका थिए । विसं १९९५, कात्तिक २२ गते बहाँटारी, स्याङ्जामा जन्मेका कार्की सेन्ट मेरिज स्कूलको पश्चिमपट्टि जावलाखेल, ललितपुरमा बसोबास गर्न थालेको दशकौं भए पनि वर्षको एकफेर देहरादुन जान्थे । त्यहाँ पनि उनको घरव्यवहार चलिरहेकै थियो ।

टुट्यो देहरादुनसँगको दोस्ती

देहरादुनसँग उनको सम्बन्ध धेरै पुरानो हो । चार वर्षको उमेरमै पल्टने बुबा जुद्धवीर कार्कीसँगै सन् १९४२ तिर देहरादुन गएका थिए । त्यतिबेला नेपालमा यातायातको सुविधा थिएन । स्याङ्जा त झन् विकट जिल्ला थियो । भारत पनि हिँडेरै जानुपर्थ्यो ।

जेठो दाइलाई हिँडाएर र चेतनलाई बोकाएर गोरखपुरको रेलसम्म पुर्याएका थिए लाहुरे बुबाले । उनी देहरादुनमै हुर्के । अङ्ग्रेजले त्यहाँ गोर्खा सिपाहीका छोरालाई पढाउन खोलेको गोर्खा मिलिटरी स्कूलमा पढे । गोर्खाली सिपाहीका छोरालाई पढाउन खोलिए पनि पढाइ भने भारतीय र अंग्रेजी माध्यमबाट हुन्थ्यो । औपचारिक रुपमा नेपाली भाषा बोल्ने अवसर नपाए पनि गोर्खालीहरु नेपाली भाषा नै प्रयोग गर्थे परिवारमा ।

देहरादुनमा बसे पनि स्याङ्जाली लोकलय र लोकगायन चेतनको मनमा गडेर रहेको थियो । लोकगीतमा खुब लगाव थियो चेतनको । त्यतिबेला गीत सुन्ने नै ग्रामोफोनमा त थियो । मास्टर मित्रसेन थापाका गीत सुन्थे । ‘झमझम परेली आँखैकी गाजलु सम्झन्छु देहरादुन’ । त्यही गीतमा टुक्का थपेर स्कूलमा पनि गाउँथे । सबैको स्याबासी पाउँथे । ‘तिम्ले त मलाई सम्झिने छैनौ तर म आइदिउँला रातिको बेला भएर भेला रोधी नि गाइदिउँला’ । ‘माछीले खा मलाई भन्छ, खान मन लाग्दैन पटक्कै, चनौटे जा मलाई भन्छ, जान मन लाग्दैन पटक्कै !’

स्कुले जीवनमा चेतनको रुचि फुटबलमा थियो । आगरा विश्वविद्यालयको त फुटबल क्याप्टेन नै थिए । सन् १९५८ मा स्टेट अफ युपीको नेसनल च्याम्पियनसिप समेत खेलेका रहेछन् । हिन्दी साहित्यमा एमए र बीएस्सी गरेका  उनी १९ वर्षपछि अर्थात् सन् १९६० मा नेपाल फर्किएका थिए ।

चेतन कार्कीले नेपाल प्रहरीमा डिएसपी पदको प्रलोभन पाएका थिए । तर, त्यो पाएनन् । त्रिचन्द्र कलेजमा लेक्चररको आश्वासन पाए, त्यो पनि उनलाई जुरेन । रेडियो नेपालमा पनि जागीर खाने प्रयत्न गरेका थिए । उनी लिखित परीक्षामा अब्बल हुँदाहुँदै पनि मन्त्रिपरिषद्का अध्यक्ष डाक्टर तुलसी गिरीका भतिजा प्रवीण गिरीले पछारे ।

अन्ततः मत्स्य विकास तथा प्रशासनको तालिम लिएर पोखराको मत्स्य विभागमा अधिकृतको जागिर पाए । २०१८ सालतिर पोखरा बल्ल सहर बन्दै थियो । पोखरामा त्यो बेला सातवटा मात्रै सरकारी जिप थिए रे । सेना, रत्नमन्दिर, बडाहाकिम (पछि अञ्चलाधीश), नगर विभागलगायतको ।

आठौँ जिप भूमिसुधारको आयो। तर, मत्य विकास केन्द्र अन्तर्गतको ताल विकास विभागसँग गाडी थिएन । २४ वर्षको लक्का जवान हाकिम चेतन घोडा चढेर हिँड्थे । आफूभन्दा कनिष्ठको बढुवा भएपछि उनले उसबेलाका कृषिमन्त्री राजेश्वर देवकोटालाई राजीनामा बुझाए ।  त्यहाँ उनले ६ वर्ष ४ महिना जागिर खाए । त्यही राजीनामा नेपाली चलचित्र क्षेत्रका निम्ति वरदान साबित भयो ।

तालको माछा छाडेर सिनेमामा

चलचित्र जगत्मा चेतन कार्कीको प्रवेश पटकथा लेखकका रुपमा भएको थियो । जनार्दन  समको नाटक ‘चेतना’ मा आधारित भएर उनले लेखेको पटकथा ‘परिवर्तन’ नाममा रिलिज भएको थियो । त्यसका निर्देशक थिए, हिरासिंह खत्री ।

२०२८ सालमा शाही चलचित्र संस्थानको स्थापना भएसँगै कार्कीले निर्माण अधिकृतका रुपमा पनि काम गरे । संस्थानले निर्माण गरेका ‘मनको बाँध’, ‘कुमारी’, ‘सिन्दूर’, ‘जीवनरेखा’ आदि फिल्ममा संवाद लेखकका साथै निर्माण अधिकृतको पनि काम गरेका उनले १० वर्षपछि राजीनामा दिए ।

२०४३ मा उनले पहिलो फिल्म निर्देशन गरेका थिए, ‘विश्वास’ । ‘विश्वास’ बाटै नेपाली फिल्ममा डेब्यू गरेकी थिइन्, अभिनेत्री मिथिला शर्माले । ‘त्यो २०४२/४३ सालतिर चेतन दाइ गोपाल योञ्जनसँग त्यही फिल्मका लागि संगीतका बारेमा कुरा गर्न महेन्द्र पुलिस क्लबमा आउनुभएको थियो, त्यहाँ विभिन्न कार्यक्रमका लागि हामी रिहर्सल गरिरहेका हुन्थ्यौं । उहाँले मलाई पनि त्यस फिल्ममा काम गराउने इच्छा व्यक्त गर्नुभयो,’ अभिनेत्री शर्मा सम्झिन्छिन्, ‘बाछी भन्छ बाँबाँ, बाखरीले म्याँ, बिरालोले म्याउँ म्याउँ, म त भन्छु माँ’ बोलको गीत चेतन दाइले लेख्नुभएको रहेछ। त्यसमा गोपाल सरले संगीत भर्नुभएको थियो र गायिका विमला राईले गाउनुभएको थियो। त्यही गीतमा मैले शिक्षिकाको भूमिका निर्वाह गर्ने पक्कापक्की भयो ।’

अभिनेत्री शर्माका अनुसार फिल्मको सुटिङ पोखराको एसओएस स्कूल र पोखराकै छोरेपाटनमा भएको थियो । त्यो फिल्म खेल्दा उनी १६ वर्षकी थिइन् । गीतमा उनको रोल मात्र तीन मिनेटको थियो । तर, त्यही तीन मिनेटको रोल पनि त्यो बेला एकदमै हिट भयो। र उनको जीवनका लागि सबैभन्दा अविस्मरणीय क्षण पनि । तर, त्यो गीतको निर्देशन पनि चेतनले नै गरेका थिए ।

‘विश्वास’ पछि उनले ‘भूमरी’, ‘पहिलो प्रेम’ आदि फिल्म निर्देशन गरे । यी चलचित्रमा उनकै संवाद, पटकथा र गीत छन् । उनले टेलिभिजन शृंखला ‘मनको आँखा’ पनि निर्देशन गरे । तर, पटकथा र गीत लेखकका रुपमा जस्तो ख्याति पाएनन् ।

उनले निर्देशन गरेको ‘भूमरी’ २०४६ सालको आन्दोलनको मारमा परेको थियो । त्यो फिल्मका हिरो डिएसपी अर्जुनजंग शाही थिए । तर २०४६ सालको आन्दोलनमा उनले दमन गरेको कारण देखाउँदै दर्शकले फिल्म बहिष्कार गरे ।

कार्कीले चलचित्रबाट मात्र काम गरेर जीवन धान्न मुस्किल भएपछि सेन्ट मेरिज स्कूलमा विज्ञान पढाउनेसँगै ट्याक्सी पनि चलाएका थिए । गुरु हिरासिंह खत्री तेस्रो फिल्म बनाएर भारत फर्केपछि ‘फिल्ममा भविष्य छैन’ भन्ने लागेर ‘परिवर्तन’ बाट पाएको पैसाले सेकेन्डह्यान्ड जिप किनेर पोखरामा चलाएका थिए । त्यो जिप २०२५ सालमा काठमाडौं, रक्सौल, मुजफ्फरपुर, गोरखपुर र भैरहवा हुँदै पोखरा पुर्याएर चलाएको उनले बताएका छन् ।

करिब ५० चलचित्रमा कथा, पटकथा, संवाद, निर्देशन, प्राविधिक सल्लाह तथा गीत लेखनमा संलग्न भए चेतन । उनलाई संयुक्त राज्य अमेरिकाबाट अमेरिकी चलचित्रको विषयमा अवलोकन भ्रमणका निम्त्याइएको थियो । उनले सन् १९७६ र १९८० मा गरी दुई पटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

फिल्म निर्देशक प्रकाश सायमिका अनुसार ‘आमा’ को प्रदर्शनपछि त्यसका निर्देशक हीरासिंह खत्रीले नेपालमै बसेर ‘हिजो, आज, भोलि’ बनाए । बीसको दशकमा बनेको ‘परिवर्तन’ साहित्यिक कृतिमा आधारित पहिलो नेपाली सिनेमा हो । यसै सिनेमाबाट अभिनेता नीर शाह, शैल्यान केसी रजतपटमा प्रवेश गरे । नारायणगोपाल सिनेगायक, चेतन कार्की गीतकार र संवाद लेखक भए । निर्देशनका दृष्टिकोणले हीरासिंह खत्रीको ‘परिवर्तन’ अन्तिम चलचित्र भएपनि उनले नेपाली चलचित्र जगतका निम्ति राम्रा निर्देशक चेतन कार्कीलाई जन्माएर गए ।

सबै सुपर हिट गीत

२०१७ देखि नै रंगमञ्च लेखन, व्यवस्थापन, निर्देशन र कला संयोजनको सीपले खारिएका थिए, चेतन कार्की । २०२३ सालमा पोखरामा प्रदर्शन भएको ‘आत्मा बेचेको छैन’ टिकट काटेर प्रदर्शन गरिएको पहिलो नाटक थियो । लोक गायक झलकमान गन्धर्वलाई अमर बनाउने गीत ‘हे बरै, आमाले सोध्लिन् नि’ बोलको गीत सर्वप्रथम त्यही नाटकमा प्रयोग भएको थियो ।

त्यो गीत उनले झलकमानका बुबा दुर्गबहादुर मिजारको मुखबाट सुनेका थिए । नाटक मञ्चन हुने दिन दुर्गबहादुरलाई सन्चो नभएकाले झलकमानले मौका पाए । ‘त्यतिबेला मलाई लोकगायकका रुपमा नचिन्ने कोही थिएन । कास्की र वरपरका जुन गाउँमा कार्यक्रम भए पनि निमन्त्रणा आउँथ्यो । तीन दिन र तीन रात लगातार अर्मलाको रोधीघरमा दोहोरी गाएर म पोखरा फर्किंदै थिएँ । घोडाभरी कोसेलीमा पाएका रक्सी भरिएका भाँडा थिए । बाटुलेचौरको गन्धर्व बस्तीमा आइपुग्दा मलाई फेरि रक्सी थप्न मन लाग्यो,’ उनी नोस्टाल्जिक भएर सुनाउँथे, ‘हो, त्यतिबेला मैले यो गीत दुर्गाबहादुर मिजारको मुखबाट सुनेको हुँ, गीतले मलाई यति छोएछ कि घर गएर सबै गीत टिपेर राखें ।’

भन्नु परोइन, ‘कन्यादान’ फिल्मको सदाबहार गीत ‘तीजको लहर आयो बरिलै’ चेतन कार्कीले नै लेखेका हुन् । गीत लेखाउन निर्देशक प्रकाश थापा र उनका छोरा विजय कार्कीको घर पुगेका थिए । त्यसअघि प्रकाश थापाले गीतकार किरण खरेललाई गीत लेख्न लगाउँथे । किरणले नै उनको नाम सिफारिस गरेका रहेछन् ।

झण्डै ३ दशकसम्म तीजको ‘एन्थम सङ’ जस्तो भएको यो गीतको भाका भने ‘नेपालीले माया मार्‍यो बरी लै’ बाट लिइएको रहेछ । फिल्मका अन्य दुई गीत ‘नजाऊ न मलाई छोडी, मुख मोडी, दिल तोडी च्यान्टे मायालु’ र ‘ढिकिच्याउँ ढिकिच्याउँ घर घर जाँतो’ पनि उनकै सिर्जना हुन् ।

‘बहिनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने’ नारायणगोपाल र मीरा राणाको स्वर रहेको यस गीतका रचनाकार पनि चेतन कार्की नै हुन् । चलचित्र  ‘परिवर्तन’मा समावेश यो गीत गण्डकी क्षेत्रको ‘झ्याउरे चुड्का’ हो । २०२६ मा रेकर्डिङ भएको यो नारायणगोपालले गाएको पहिलो लोकगीत पनि हो । यो लोकभाकामा संगीत संयोजन मात्रै संगीतकार भी. बलसाराले गरेका हुन् ।

चलचित्र ‘परिवर्तन’ कै गीत ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो…’ उनले कलकत्ताको महाराष्ट्र भवनमा बसेर दुई घण्टाभित्रमै लेखेका हुन् । कार्कीका अनुसार पहिले त्यो गीत चलचित्रमा थिएन । डेकोटा चढेर कलकत्ता पुगेका नारायणगोपालले धम्की दिएछन्, ‘मलाई पनि एउटा सोलो गीत चाहियो । नभए म गाउँदिनँ । काठमाडौं फर्किन्छु ।’

निर्देशक हिरासिंह खत्रीले उनलाई बोलाएर भने, ‘चेतन बेटा, एक सोलो गीत नारायणगोपालके लिए भि लिख दो ।’ अब नलेखी सुख पाइयो ! सूचना विभागले ‘चेतना’ नामक फिल्म बनाउन लेखक, पटकथाकार मागेको थियो । त्यसमा उनी छानिएका थिए । काम गर्दै जाँदा गीत लेखन र मुख्य सहायक निर्देशकको जिम्मेवारी सुम्पिइयो ।

यति मात्र होइन, ‘दाइलाई बोलाऊँ भने लेक स्वर पुग्दैन…’ स्याङजाको अति प्रचलित ‘रोइलो’ लोकभाकामा उनले रचना गरेको गीतमा नातिकाजीले लोकआधुनिक लय भरे भने तारादेवी र भुवन थापा (चन्द) ले गाए २०२० सालमा । स्याङ्जाको आँधीखोले, बागलुङमा गाइने सालेजो र लमजुङको करापुटारमा गाउँने कर्पुटारे भाकालाई दिदीबहिनी मानिन्छ । तर, रोइलो भाका स्याङ्जाको आफ्नै उत्पत्ति मानिएको छ ।

चेतन कार्कीकै गीत हो, ‘कस्तुरी ए ! बास आउँछ भन्छन्, सुनमाया आउँदैन त्यो किन  ?’ ‘हेर मर्दले आँटे नि’ वर्ष दिन भन्छन्, आइमाईले आँटे नि एकै छिन… कान्छी हे कान्छी !’ उनकै सिर्जना हो । उनी गीतमार्फत ठेट नेपाली उखानको झटारो हान्न सिपालु मानिन्छन् । ती उखानहरुको भाका पनि मीठो, मर्म पनि मीठो । नारायणगोपाल र अरुणा लामाको स्वर, गोपाल योञ्जनको संगीत र चेतन कार्कीको त्यो गीत चलचित्र संगीतमा मानक नै बन्यो ।

मुम्बईमा बस्ने निर्देशक बिएस थापालाई चेतनले २०४१ सालमा नेपाल बोलाएका थिए, ‘कान्छी’ बनाउन । त्यसको संवाद र गीत चेतनले नै लेखे । थापाले राजा महेन्द्रको निम्तोमा ‘माइतीघर’ बनाइसकेका थिए । चेतनले फिल्ममार्फत पोखराको सौन्दर्यको प्रचार पनि गरे । फिल्मका सबै गीतले राम्रो चर्चा पाए ।

‘पिरतीको के चलन यो, मीठो-मीठो छ जलन यो’, ‘हरियो भन्ने त्यो काँचो पात पहेंलो सुरती जुगै’,  ‘मरी नहुने भए के लाउनु पिरती’, ‘उँभो र हेर्दा त्यो कालीलेक उँधोलाई वन छैन, उडी जाऊँ भने म पन्छी हैन, बस्नलाई मन छैन’ बोलका उनका गीतहरु मौलिकताका शिखर हुन् ।

चलचित्र ‘कान्छी’ का लागि उनले लेखेको गीत हो, ‘यी ओठ तिम्रा मुस्कान तिम्रै…।’ यसमा गोपाल योञ्जनको संगीत छ । बम्बईमा गएर गीत रेकर्डिङ गर्दा महँगो पर्ने भएकाले ‘कान्छी’ का गीत उषा उत्थुपको कलकत्तामा भरखरै खुलेको रेकर्डिङ स्टुडियो ‘भाइब्रेसन’मा रेकर्डिङ भएका थिए । आशा भोसलेलाई कलकत्ता बोलाउँदा झनै महँगो पर्ने भएकाले दार्जिलिङबाट अरुणा लामालाई बोलाइयो र गीत गाउन लगाइयो ।

नेपालमा पहिलो पटक विशाल लायन क्लबले गरेको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा ‘कान्छी’को यही गीतमा शब्द रचनाका लागि चेतन, संगीतका लागि गोपाल योञ्जन र गायनका लागि अरुण लामालाई उत्कृष्टताको अवार्ड दिइएको थियो । २०४३ सालमा भएको त्यो समारोहमा चेतनले लेखेको ‘कान्छी’ कै ‘छोरीको जन्म हारेको कर्म’ बोलको निम्ति सर्वश्रेष्ठ गायकको अवार्ड दिइने निर्णय भए पनि नारायणगोपालले अस्वीकार गरिदिए । उनको अस्वीकृतिका पछाडि एउटै कारण थियो– पुरस्कार थापेपछि सित्तैँमा गीत नगाउने ।

फिल्म निर्देशक प्रकाश सायमिका अनुसार आयोजक नारायणगोपाललाई पुरस्कार थाप्नभन्दा पनि गीत गाउन बाध्य बनाइरहेको थियो । उनले आफू मात्र पुरस्कार नलिने होइनन्, अरुलाई पनि सित्तैँमा गीत गाउन नदिन भरमग्दूर प्रयास गरे । जसमध्ये गायिका ज्ञानु राणा, तारा थापा र सुक्मित गुरुङले नारायणगोपालको प्रभावमा परेर गीत गाएनन् ।

रोचक के भने कार्कीको निर्देशन रहेको पहिलो चलचित्र ‘विश्वास’ मा नारायणगोपालले सिक्दै गरेको गीत रेकर्डिङ गर्नु अघिल्लो हप्ता गाउँदिन भनेर इन्कार गरिदिएका थिए । नारायण गोपाल अलि एकोहोरो स्वभावका भएकाले चेतन कार्की ‘गैंडा’ भन्थे ।

‘सांगीतिक रुपमा स्वरसम्राट्का रुपमा स्थापित नारायणगोपाल व्यक्तिगत रुपमा भने ठाडो स्वभावका मान्छे हुन् । उनका धेरै साथी थिएनन् । ठूलो आवाजमा बोल्थे,’ चेतनले सम्झेका छन्, ‘विश्वास बनाउँदा मैले उनका लागि एउटा गीत लेखेको थिएँ । गोपाल योञ्जनले संगीत गर्ने तय भएको थियो । गीत रेकर्ड गर्न कलकत्ता जानुभन्दा चार दिनअघि ‘मेरो छातीमा समस्या छ, म नजाउँ क्यारे’ भने, त्यसपछि भने हाम्रो सहकार्य भएन । यो व्यक्तिगत कुरा भयो ।’

नेपाली, हिन्दी र उर्दूमा पकड

गोर्खा दक्षिणबाहु, शुभराज्याभिषेक पदक, रजत महोत्सव पदकसँगै छिन्नलता पुरस्कार पाएका कार्कीले कविता लेखे हिन्दी, नेपाली र उर्दूमा । उनका तीनै भाषामा कविता पुस्तक प्रकाशित छन् । कार्कीका ‘जून निदाउन थाल्यो’, ‘हत्केलाले सधैं सूर्य छेकिँदैन’, ‘हो देश मेरो पनि’, ‘बसिबियाँलो’ ‘माया–प्रीतिको चोखो कथा’ गीतसंग्रह प्रकाशित छन् । उनले हिन्दीमा ‘कल्पना टुट चुकी है’ र उर्दूमा ‘दिल जिगर के टुकडे’ कवितासंग्रह प्रकाशित छन् । अंग्रेजीमा ‘साइट, साउन्ड एन्ड पल्स’ उनको सहलेखनमा प्रकाशित छ ।

‘आत्मा बेचेको छैन’, ‘हनिमुन’, ‘ढलेको गिलास’ उनका प्रकाशित उपन्यास हुन् । ‘आत्मा बेचेको छैन’ को पृष्ठभूमिमा उनको जीवन र उनले भोगेको परिवेश छ । देशको मायाले उनी लाहुरबाट फर्किए । तर, देशमा आएर उनले दुःख पाए । यस उपन्यासलाई उनी त्यसको प्रतिक्रिया मान्दछन् ।

कार्कीको ८२ औं जन्मोत्सवका अवसरमा लायन्स क्लब अफ काठमाडौं, हिमचुली ठमेलले एकल कविता वाचन तथा सम्मान आयोजना गरेको थियो । उनको साहित्यिक रचनाकर्मको सुरुवात र प्रकाशन स्कूले जीवनमा भारतको देहरादुनमा हिन्दीमा कविता लेखेर भएको थियो, सन् १९५२ मा । उनलाई चलचित्र, संगीत तथा भाषा–साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप राष्ट्रिय अभिनन्दन पनि गरिएको थियो ।

नगरी नहुने काम बिर्सिदिन्छ
नपुगी नहुने ठाम बिर्सिदिन्छ
यतिसम्म बेहोस् भएको छ चेतन
कहिलेकाहीँ आफ्नै नाम बिर्सिदिन्छ

 



प्रतिक्रिया दिनुहोस्