Logo

अरब सागरको चक्रवात पश्चिमोत्तरतर्फ बढ्दै, नेपालमा कस्तो असर पर्ला



काठमाडौं, ३ जेठ । अरब सागरको शक्तिशाली चक्रवात भारतको समुन्द्री तट पश्चिमतर्फ बढिरहेको छ । केरला, कर्नाटक, महाराष्ट्र हुँदै गुजराततर्फ बढेको चक्रवातले त्यहाँ आँधीसहित भारी वर्षा भएको छ । सबैभन्दा ठूलो क्षति गुजरातमा हुनसक्ने आँकलन गरिएको छ । त्यहाँका बासिन्दालाई शतर्क रहन भनिएको छ ।

टाउक टे नामको चक्रवातले केरलामा दुई र कर्नाटकमा दुईजनाको मृत्यु भइसकेको छ । चक्रवातको ठूलो असर देखिने थालेको भारतको मौसम पूर्वानुमान विभागले जनाएको इन्डियन एक्सप्रेसले लेखेको छ ।

नेपालको मौसम पूर्वानुमान महाशाखाले हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात टाउक टे विकसित हुने क्रममा रहेको उल्लेख गरेको छ । चक्रवात उत्तर उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको र त्यसको प्रत्यक्ष प्रभाव नेपालमा नपर्ने जनाएको छ । तर, केही असर नेपालको भूभागमा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, महाशाखाले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको उल्लेख गरेको जनाएको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्तया सफा रहने उल्लेख छ । थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्