काठमाडौं, ३ जेठ । आजभन्दा ठिक २८ वर्ष अघि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो । उक्त घटनालाई एमालेले ‘रहस्यमय’ भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरेपछि जाँचबुझ आयोग नै गठन भएको थियो ।
मदन भण्डारी र जीवराज आश्रितको मृत्युलाई एमालेले अझै पनि शंकास्पद मानेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली दिंदा समेत दुर्घटनालाई रहस्यमय उल्लेख गरेका छन् । एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुर्घटनालाई रहस्यमय भन्दै यथार्थ पत्ता लगाउन माग गरेका छन् ।
एमाले नेतृत्वको सरकार पटक पटक बनिसकेको छ । मदन भण्डारीसँग नजिक रहेर काम गरेका केपी शर्मा ओली देशका प्रधानमन्त्री छन् । माधवकुमार नेपाल पनि प्रधानमन्त्री बनिसकेका छन् । एमालेबाट झलनाथ खनाल पनि ९ महिना प्रधानमन्त्री भएका थिए । मनमोहन अधिकारीको ९ महिने एमाले सरकार पनि बनेको थियो । तर, रहस्य पत्ता लगाउन एमाले नेतृत्वको सरकार सफल हुन सकेको छैन ।
माधव नेपालले त घटनासँग सम्बन्धित अमर लामाको हत्याबारे समेत उल्लेख गरेका छन् । उनले घुमाउरो तरिकाले लामाको हत्या हुनुले घटनालाई अझ रहस्यमय बनाएको तर्क गरेका छन् । नेताहरु सत्ता बाहिर रहँदा दासढुङ्गा दुर्घटनाबारे कडा स्वरले वर्षमा एकपटक बोल्ने तर सत्तामा पुगेपछि यथार्थ पत्ता लगाउन गम्भीर नहुने शैली अझै देखिएको छ । भण्डारी र आश्रितको मृत्युको रहस्य पत्ता लगाउन एमाले नेतृत्वको सरकार नै गम्भीर नदेखिएको विषय उठ्ने गरेको छ ।