Logo

प्रधानमन्त्री ओलीले फेरि सपथ लिनुपर्ला ?



काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ वैशाखमा लिएको पद तथा गोपनीयताको सपथविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, केशरजंग केसीसमेत, अधिवक्ता राजकुमार सुवालसमेत, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सपथ त्रुटीपूर्ण भन्दै हालेको रिट आज दर्ता भएको हो ।

सपथ त्रुटीपूर्ण भन्दै बदरको माग गरी सर्वोच्चमा रिट परेपछि यसको सुनुवाई अगाडि बढ्ने भएको छ । सपथकै बीचमा ओलीले केही शब्द छुटाएका थिए भने राष्ट्रपतिले दोहोर्याएर भन्दा त्यो पर्दैन भनेका थिए ।

रिट निवेदकहरुले संविधानको धारा ८० अनुसार सपथ बदर गरेर पुनः सपथ गराउन माग गरेका छन् । अब सर्वोच्च अदालतले प्रधानमन्त्रीले पुनः सपथ गर्नुपर्ने हो या होइन छिनोफानो गर्नेछ । प्रधानमन्त्री ओलीले पुनः सपथ गर्नुपरे मन्त्रीहरुले पनि पुनः सपथ गर्नुपर्ने हुन्छ ।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले लिएको सपथमाथि प्रश्न उठाएका छन् । उनले विज्ञप्ति जारी गरी सपथग्रहणमा प्रतिज्ञा गर्दछु भन्ने वाक्यांश नभनी त्यो पर्दैन भनेर राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको तर्क गर्दै पुनः सपथग्रहण गराउन माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्