तनहुँ, ३ जेठ: तेह्र भूमिहीन भूकम्पपीडित लाजपुर्जाका मालिक बनेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइले भूमिहीन लाभग्राहीलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराएपछि लालपुर्जा पाएका हुन् । विगत लामो समयदेखि भूमिहीन लाभग्राहीले पुर्जा पाएपछि खुशी भएका छन् ।
प्राधिकरणले भूमिहीन तथा जोखिमयुक्त बस्तीबाट सुरक्षित हुन चाहने भूकम्पपीडितलाई घडेरी खरीद गर्न रु दुई लाख उपलब्ध गराउने प्रावधानअनुरुप उपलब्ध गराएको थियो । लालपुर्जा खरीद गर्न रकम पाउने प्रावधानअनुसार जग्गा खरीद गरेर १३ जनालाई हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिए । तिवारीका अनुसार लालपुर्जा प्राप्त भइसकेपछि आवास अनुदानका लागि रु तीन लाख पाउनेछन् ।
प्राधिकरणबाट जग्गा खरीदका लागि थप रकम रु दुई लाख लिएका लाभग्राहीले १० वर्षसम्म जमीन तथा घरलाई बिक्री गर्न नपाउने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ । आफ्नो नाउँमा लालपुर्जा लिने सपना पूरा भएकामा निकै खुशी लागेको बन्दीपुर गाउँपालिका–६ धरमपानी निवासी आइतमाया भुजेल र दलमाया भुजेलले जानकारी दिए ।-रासस/File Photo