Logo

आफूनिकट नेताहरुसँग ठाकुरले भने : ‘उपेन्द्रजीसँग सहमति भयो, पार्टी एक हुन्छ’



काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले अब पार्टी एक ढिक्का भएर अघि बढ्ने बताएका छन् । आजमात्रै ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । लगत्तै, दुवै अध्यक्षले संयुक्त विज्ञप्तीसमेत जारी गरेका थिए । ठाकुरले आफूनिकट नेताहरुसँग यादवसँगको छलफल र वार्ताबारे ब्रिफिङ गरेका थिए ।

ठाकुरनिकट नेता सर्वेन्द्रनाथ शुक्लाले दिएको जानकारीअनुसार अब जसपा एक ढिक्का भएर अघि बढ्ने छ । ठाकुरको भनाई उद्धृत गर्दै शुक्लाले भने, उपेन्द्रजीसँग सहमति भयो । आजको सहमतिले अब पार्टी एक ढिक्का बनाउँछ । जसपाको नेतृत्वमा सरकार बनाउने कुरामा हामी एक छौं । आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने अवस्था आए, त्यसको लागि पहल गर्ने सहमति भएको छ । तर, अब अरुलाई सरकार बनाउन सघाउँदैनौं ।

शुक्लाले यही जेठ ८ र ९ गते बस्ने कार्यकारिणी समितिको बैठकले पार्टीलाई एकताबद्ध बनाउने र नयाँ उर्जा दिने विश्वास दिलाए । र, त्यही बैठकले नै संसदीय दलको नेता पनि चयन गर्ने तयारी भएको जसपाका अध्यक्ष उपेन्द्र यादवको भनाई छ । उनले अहिले पार्टीको संसदीय दलको बैठक नबसेको र कुनैपनि निर्णय नभएको जिकिर गरे ।

अब बस्ने बैठकले नै सर्वसम्मतीले नेता चयन गर्ने उनको भनाई छ । नेतृ, चन्दा चौधरीले पनि अब दलको नेता महन्थ ठाकुर नै बन्ने विश्वास दिलाईन् । भोलि सरकारको नेतृत्व जसपाले गर्ने अवसर पाए अध्यक्ष ठाकुर नै दलको नेता बन्ने सहमति भएको पनि उनले सुनाईन् । र, राजेन्द्र महतोले पनि ठाकुर प्रधानमन्त्री बन्ने अवसर आए दलको नेता ठाकुरलाई छोड्छु भनेको उनले सुनाईन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्