काठमाडौं, ४ वैशाख । जनता समाजवादी पार्टीभित्र अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमतिले रोचक मोड लिएको छ । दुई नेताबीच जसपाले सरकारको नेतृत्व गर्न अगाडि बढ्नेसहितको ८ बुँदे सहमति भएपछि राजेन्द्र महतो असन्तुष्ट भएका छन् ।
ठाकुर र यादवबीच सहमतिलगत्तै महतोलाई ३० वैशाखमा संसदीय दलको नेता चयन गरिएको पत्र संसद सचिवालयमा दर्ता भइसेको छ । डोलेश्वरमा महन्थ पक्षीय सांसद पुगेको दिन नै उक्त निर्णय भएको पत्रबाट देखिन्छ ।
पत्रमा राजेन्द्र महतोलाई संसदीय दलको नेतामा निर्वाचित गरेको व्यहोरा र माइन्युटको प्रतिलिपिसहित पठाइएको उल्लेख छ । संसद सचिवालयमा १३७९ को दर्ता नम्बरमा राखिएको छ । महतोलाई निर्वाचित गरिएकोमा महन्थ ठाकुरको मात्र हस्ताक्षर छ । अर्का अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छैन ।
संसद सचिवालयमा राजेन्द्र महतो निर्वाचित भएको पत्र दर्ता भएलगत्तै उपेन्द्र यादवले उक्त निर्णय खारेज भएको बताइसकेका छन् । उनले महन्थ ठाकुरसँग भएको सहमतिले महतोलाई संसदीय दलको नेता बनाउने निर्णय पनि खारेज भएको जिकिर गरेका छन् ।
सत्ता संघर्ष चलिरहँदा महन्थ ठाकुरले आफ्नो पक्षमा बहुमत सांसद बनाउन महतोलाई संसदीय दलको नेता स्वीकारेका थिए । अहिले उनले यादवसँग सहमति गरेपछि नयाँ घटना विकास भएको छ । कतिपयले ठाकुर र यादव सहमति गरेर महतोलाई पन्छाएको विश्लेषण गरिरहेका छन् । तर, महतोले पनि सत्ता संघर्षमा आफ्नो बार्गेनिङ शक्ति बलियो बनाउन कदम चालेका छन् । यसले जसपाभित्रको मात्र नभई निकट भविष्यमा हुने सत्ता संघर्षलाई रोचक मोड दिएको छ ।
सत्ता संघर्षका लागि संसदको अंकगणितमा जसपाको सांसद संख्याले निकै अर्थ राख्छ । ओलीविरोधी गठबन्धनका लागि संविधानको धारा ७६ को उपधारा ५ मा पुगेमा तत्काल कायम रहेको प्रतिनिधि सभा सदस्य संख्या २६७ मध्ये १३४ संख्या आवश्यक छ । काँग्रेसको ६१ र माओवादीको ४९ भएकोमा जसपाको २४ सांसदको साथ अनिवार्य हुन्छ । ३२ सांसद रहेको जसपाको सांसदहरु यताउता भएमा बहुमत पुग्दैन र ओलीले देशलाई चुनावमा लाने अवस्था निर्माण हुनसक्छ ।