Logo

घाँटी रेटेर बालक दाजुभाईको हत्याका दोषी नजिक पुग्यो प्रहरी



बारा, ४ जेठ । कलैयामा एकै परिवारका बालक दाजुभाईको गएराति घाँटी रेटेर भएको हत्याका दोषी पत्ता लगाउन प्रहरी सक्रिय भएको छ । प्रहरीले शंकास्पदमाथि निगरानी बढाएको र प्राविधिक टोलीसहित अनुसन्धान तिव्र पारेको छ ।

प्रहरी स्रोतका अनुसार हत्याका दोषी नजिककै चिनेजानेको हुनसक्ने आधारमा अनुसन्धान बढाइएको छ । केही दिनभित्रै हत्यारा सार्वजनिक गर्ने गरी अनुसन्धान बढेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थल वरपरका स्थानीय र मृतकका आफन्तसँग सोधपुछ गरिरहेको छ । उनीहरुबाट प्राप्त तथ्यका आधारमा अनुसन्धान बढेको बुझिएको छ ।
मृतक ९ वर्षीय उसमान मियाँ र ७ वर्षीय अमिनलाई घरबाट बोलाएर लगी हत्या गरिएको थियो । उनहरुको घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो । बालकहरुका बाबु वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन् ।

घटनाको बेला आमा आफन्तको मृत्यु भएपछि घरबाहिर थिइन् । आमा नभएको मौकामा बालकहरुलाई एक व्यक्तिले बोलाएर लगेको पत्ता लागेको छ । ती व्यक्तिको पहिचान भइसकेको र प्रमाण जुटाउन प्रहरी लागेको छ । तथ्य प्रमाण भेटिएपछि पक्राउ गरिने प्रहरीले बताएको छ ।

घटनापछि बाराको कलैया क्षेत्र नै स्तब्ध छ । कलिला बालकहरुको निर्ममतापूर्वक हत्या भएकोमा स्थानीयवासी शोकाकुल छन् ।



प्रतिक्रिया दिनुहोस्