Logo

राष्ट्रिय सभाको एक सांसद चुन्न ६४ लाख खर्च अनुमान



काठमाडौं, ५ जेठ । एकजना सांसदको ५ वर्ष कार्यकालमा तलब, भत्ता र मसलन्द गरी प्रति महिना एक लाख खर्च जोड्दा ६० लाखको आसपास हुनेगर्छ । तर, त्यही सांसद चुन्न त्योभन्दा बढी खर्च हुन्छ ।

राष्ट्रिय सभाको बागमती प्रदेशको रिक्त सिटमा उपनिर्वाचनका लागि ६४ लाख निकासा भइसकेको छ । निर्वाचन आयोगले ६४ लाख रुपैयाँ खर्च अनुमान गरेर माग गरेबमोजिम निकासा भएको हो । यति रकम खर्च गरेर सांसद हुनेको कार्यकाल भने २ वर्षको मात्र हुनेछ । अर्को प्रदेश र स्थानीय चुनावपछि फेरि चुनाव हुन्छ ।

उपनिर्वाचनमा तीन उम्मेदवार छन् । दुईजना दलीय र एकजना स्वतन्त्र उम्मेदवार छन् । सुर्य, मादल र कलमबीच प्रतिष्पर्धा हुँदैछ । मुख्य प्रतिष्पर्धा एमालेका तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादल र ओलीविरोधी गठबन्धनबाट उम्मेदवार बनेका डा. खिमलाल देवकोटाबीच हुनेछ ।

बादललाई एमालेबाट निर्वाचिन प्रदेश सभा सांसद, स्थानीय निकायबाट मतदान गर्न पाउने मेयर/उपमेयरका अलावा गाउँपालिका अध्यक्ष/उपाध्यक्षले मत दिएमा जित निश्चित छ । तर, माधवकुमार नेपाल पक्षधरको मत नपाए बादलको जीत मुश्किल छ ।

बादलले हिजो नै माधव नेपाललाई भेटेर सहयोगको आग्रह गरे । तर, माधव नेपालबाट सकारात्मक जवाफ पाएनन् । साथ खुलेर नदिने तर मतदातालाई स्वविवेक प्रयोग गर्न दिने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot