Logo

दीपेन्द्रको पहलमा रत्नराज्यमा आइसोलेसन सेन्टर, प्रकाशमानद्वारा अवलोकन



काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित रत्नराज्य स्कुलमा कोभिड संक्रमितलाई लक्षित गरी ड्राई आइसोलेसन सञ्चालनमा आएको छ ।
बाग्मती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १ (क) का सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मध्यबानेश्वरको रत्नराज्य स्कुलमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको हो ।

अहिले ३० वेडबाट सुरु गरिएको आइसोलेसन सेन्टर ५० वेड सम्म पुऱ्याउने लक्ष्य छ । प्रदेशसभा सदस्य श्रेष्ठका अनुसार संक्रमणको उच्च जोखिममा परेका बिरामीलाई राहत दिने तथा समूदायको हितलाई लक्षितगरी रत्नराज्य माध्यामिक विद्यालयमा स्कुलमा आइसोलेसन वार्ड बनाइएको हो ।

यो आइसोलेन सेन्टरलाई थप व्यवस्थित गर्न प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आइसोलेसन सेन्टरको अवलोकन गर्दै जनताको सुविधाम अहोरात्र खटिन र सर्वसुलभ सेवा प्रदान गर्न अनुरोध गरे । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद सिंहले आइसोलेसन सेन्टरको अवलोकन गर्ने क्रममा मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को संरक्षण र मुख्य भूमिकामा हन्ड्रेड्स ग्रुप, नेपाल महिला एकता समाज र स्थानीय समाजसेवीहरू अनामिका अर्याल भरत ढकाल, नरेश थापा क्षेत्री लगायतको सहकार्यमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।

यो आइसोलेसन वार्ड १०० ग्रुपले व्यवस्थापन गर्ने भएको छ । नेपाल महिला एकता समाजले त्यहाँ आवश्यक पर्ने ३० वटा वेड उपलब्ध गराएको छ र आवश्यकता हेरेर थप वेड दिने प्रतिबद्धता जनाएको छ । समाजले अक्सिजन सिलिन्डर मास्क, स्यानिटाइजर, स्यानिटरी प्याड लगायतको अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
उक्त आइसोलेसन सेन्टरको वडाबाट वडाध्यक्ष रामकुमार केसी, वडा सदस्य नरोज अर्यालले नियमित रेखदेख र आवश्यक सहयोग प्रदान गर्ने छन् । वडाले आवश्यक भौतिक र आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

वागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरूङलगायत स्थानीय समाजसेवीले नियमित सल्लाह सुझाव र आवश्यक सहयोग तथा समन्वय गर्नेछन् । सांसद श्रेष्ठले आज मात्र उक्त आइसोलेसन पिपिई सेट १८ थान, मास्क ४ सय थान, ५ लिटर स्यानिटाइजर र एउटा इन्फ्रारेट थर्मोमिटर हस्तातरण गरिसकेका छन् ।

पूर्वमन्त्री स्व: नवीन्द्रराज जोशीकी धर्मपत्नी सपना जोशीले पनि एन- ९५ मास्क सहयोग गरेकी छिन् । जोशीले गरेको योगदानलाई निरन्तरता दिने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot