Logo

दिनमा भन्दा रातमा बढी मृत्यु



बाँके, जेठ ६ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल अस्पतालमा अहिले कोरोना संक्रमणबाट सिकिस्त बिरामीको चाप छ। यहाँका अस्पतालमा बाँकेसहित विभिन्न जिल्लाबाट रेफर भएका बिरामी छन्। अस्पतालहरूमा दिनमा भन्दा रातको समयमा संक्रमितको मृत्यु बढी हुने गरेको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले दैनिक रूपमा सार्वजनिक गर्दै आएको तथ्यांक हेर्दा मृतकमध्ये धेरैको मृत्यु रातमा भएको देखिन्छ। रातिको समयमा धेरैको मृत्यु हुन थालेपछि नागरिक स्तरबाट चासो व्यक्त गर्न थालिएको छ। नागरिक अगुवाले यस्तो हुनुमा उपचारमा कतै प्राविधिक गडबढी त होइन भनी प्रश्न उठाएका छन्।

अस्पतालहरूले यसबारे आधिकारिक रूपमा बताएका छैनन्। केन्द्रको पछिल्लो तथ्यांकअनुसार भेरी अस्पताल र मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप १७ जनाको मृत्यु भएको छ। तीमध्ये अधिकांशको रातको समयमा मृत्यु भएको हो।

भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जनाको मृत्यु भएको हो। यसअघिका रिपोर्टमा पनि दिनमा भन्दा रातमा बढी मृत्यु भएको देखिन्छ। रातमा एउटै समय र ५ देखि १० मिनेटको फरकमा धेरैको मृत्यु भएको पाइएको छ। केन्द्रको तथ्यांकअनुसार संक्रमणबाट अहिलेसम्म बाँकेका २ सय ५३ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २ सय ९ जनाको मृत्यु भएको छ।

संक्रमितको रातमा मात्र किन धेरै मृत्यु भइरहेको छ रु भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। राजन पाण्डे अस्पतालमा अहिले सिकिस्त बिरामी धेरै भएकाले उनीहरूलाई बचाउन कठिन भइरहेको र अर्को कुरा दिनभन्दा रातमा उपचार गर्न केही कठिन हुने भएकाले मृत्यु धेरै भएको हुनसक्ने अनुमान गर्छन्।

उनले भने, ‘रातमा मान्छे बढी थकित हुन्छ, स्वास्थ्यकर्मी पनि मान्छे नै हुन्, दिनभरको कामले उनीहरू थाक्छन्, बिरामीको हेरचाह दिनमा भन्दा रातमा स्वाभाविक रूपले कम हुन्छ।’ डा। पाण्डेले दिवाभन्दा रात्री बस बढी दुर्घटनामा पर्नुको कारण पनि यस्तै भएको बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्