Logo

शव व्यवस्थापनमा खटिएको सेना भन्छ, महामारीमा सघाउनु हाम्रो कर्तव्य हो



महेन्द्रनगर, ६ जेठ: प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिएका छन् । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले गर्न नेपाली सेनालाई दिइएको जिम्मेवारी दिएअनुसार उनी त्यहाँको श्रीदल गुल्म भगतपुर ब्यारेकले दिएको निर्देशनअनुरुप अस्पतालमा खटिएका छन् ।

सैनिक हवल्दार नेपालीको दैनिक अचेल मृतकका आफन्तलाई शव व्यवस्थापनका लागि चाहिने आवश्यक सामग्रीबारे जानकारी गराउनदेखि मृतकको विवरण भर्ने, अस्पतालबाट महाकाली नदीका घाटसम्म शव पु¥याउन व्यवस्थापन गर्ने रहेको छ । “शुरुमा त कोरोना महामारीका रूपमा फैलिँदै गर्दा अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलहालमा घुलमिल भएर काम गर्न डर पनि थियो”, उनले भने, “पछि बानी पर्दै गयो र स्वास्थ्य सुरक्षालाई पनि ख्याल गर्दै दिइएको जिम्मेवारी निडर भएर पूरा गर्दैछौँ ।”

सेनातर्फ यहाँ कञ्चनपुर जिल्लाको श्रीदल गुल्मको जिम्मेवारी क्षेत्रमा पर्छ । सोहीअनुसार गुल्मले कोरोना कहरमा दिइएको जिम्मेवारीअनुसार त्यहाँको गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माणदेखि अन्य रणनीति बनाएर काम गरिरहेको छ । “कोरोना कहरमा सङ्क्रमणको सम्भावना त रहन्छ नै”, नेपालीले भने, “यहाँबाट अहिलेसम्म दैनिकजसो शवहरु व्यवस्थापनका लागि हाम्रै टोली घाटसम्म खट्दै आएको छ ।” उनले शववाहन जुटाउने तथा अस्पताल प्रशासनमार्फत स्वास्थ्य सामग्री मृतकका आफन्तलाई दिनेलगायतका काम सेनाले नै गरिरहेको बताए ।

“शव व्यवस्थापनमा खटिने हाम्रो पाँच जनाको टोली ब्यारेकमा पछि छुट्टै क्वारेन्टिइन बनाएर बस्छ”, उनले भने, “घाटमा पनि धार्मिक परम्पराअनुसार हामीले मृतकका आफन्तलाई दाहसंस्कार गर्ने वातावरण बनाएका छौँ ।” उहाँले पछिल्लो केही दिनयता मृत्युदर पनि घटिरहेको पाइएको बताए । “देशमा यस्तो समस्या परिरहेका बेला हाम्रो जिम्मेवारी, कर्तव्य र धर्मभित्र पनि पर्छ”, उनले भने, “देशले दिएको जिम्मेवारी बहन गर्नु हामी सिपाहीको धर्म हो ।”

गुल्मकै अर्का हवल्दार भुवन बस्याल एक महिना त्यहाँ सङ्क्रमितको शव व्यवस्थापनका खटिए । “शव व्यवस्थापन खटिँदाखटिँदै मलाई पनि सङ्क्रमण भयो”, क्वारेन्टिनमा रहेका उनले भने, “यस्तो महामारीमा ज्यान गुमाउने दाजुभाइको शव चितामा राखेर अन्तिम सलामी दिनु राम्रै कुरो हो ।” कोरोना निको हुने चरणमा रहेका उनले घर परिवारबाट पनि शव व्यवस्थापनमा खटिएको खबरले स्वास्थ्यप्रति ख्याल गर्न आग्रह आउने गरेको बताए । “घर परिवारबाट पनि ड्युटीमा रहँदा स्वास्थ्यको ख्याल गर्न भनिन्छ”, उनले भने, “यस्तो महामारीमा सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु सामाजिक दायित्वमा पर्छ ।”

त्यसैगरी श्रीदल गुल्मले वैशाख महिनामा मात्रै कञ्चनपुरमा ६० जनाको शव व्यवस्थापन गरेको गुल्मपति सेनानी प्रतीकसिंह कार्कीले जानकारी दिए । उनले शव व्यवस्थापनमा उच्च तालिमप्राप्त सैनिक टोली खटिएको जानकारी दिए । “प्रत्येक पाँच जनाको समूह बनाएर शव व्यवस्थापनमा चार टिम बनाएका छौँ”, उनले भने, “यस्तो महामारीमा दिएको जिम्मेवारी पूरा गर्नु हाम्रो दायित्वभित्र पर्छ ।”-रासस



प्रतिक्रिया दिनुहोस्