Logo

एमाले बैठकपछि मन्त्रिपरिषद्को बैठक बस्ने, विश्वासको मत लिनेबारे छिनोफानो हुने



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेबारे मितिको छिनोफानो आजै गर्ने बुझिएको छ । उनले १५ जेठ अगावै विश्वासको मत लिनका लागि प्रतिनिधि सभाको बैठक आव्हान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग सिफारिश गर्ने तयारी गरेका छन् ।

आज नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक डाकेर ओलीले निर्णय लिनेछन् । त्यसपछि मन्त्रिपरिषद्को बैठकबाट विश्वासको मत लिने निर्णय गरेर संसद बैठक आव्हान गर्न सक्ने बुझिएको छ ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका नेताका हैसियतले ३० जेठमा ओली प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले संविधानको धारा ७६ को ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।

१५ जेठभित्र बजेट ल्याइसक्नुपर्ने भएकाले ओली त्यस अगावै विश्वासको मत लिन बढ्ने तयारीमा छन् । उनले विश्वासको मत लिए पूर्ण बजेट आउन सक्छ । अन्यथा अध्यादेशबाट बजेट ल्याउने तयारीमा छन् ।

ओलीले प्रतिनिधि सभा बिघटनको निर्णय लिन लागेको चर्चा पनि चलेको छ । देशमा राजनीति रोचक मोडमा पुगिरहँदा ओलीले चाल्नसक्ने कदमबारे सर्वत्र चासो छ ।



प्रतिक्रिया दिनुहोस्