Logo

सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित



विराटनगर, जेठ ७ । कोरोना महामारीका कारण ३ सातादेखि गरिएको निषेधाज्ञाको कारण सुनसरी मोरङ औद्योगिक कोरिडोरका ४० प्रतिशत उद्योग बन्द भएका छन् । चलेका ६० प्रतिशत उद्योगको उत्पादन पनि ४० प्रतिशतमा खुम्चिएको छ ।

अत्यावश्यकीय वस्तुको उत्पादन गर्ने उद्योगहरूले ८० प्रतिशत उत्पादन दिए पनि अन्य उद्योगहरूले सीमित उत्पादन गरिरहेका छन् । सरकारले मजदूर र बजारको व्यवस्था गर्न नसके अबको २ सातापछि सम्पूर्ण उद्योग बन्द हुने उद्योगीहरूले बताएका छन् ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ठूला साना गरी ५ सय उद्योग छन् । यिनमा दैनिक ५० हजार मजदूर प्रत्यक्ष रूपमा काम गर्छन् । ४० प्रतिशत उद्योग बन्द हुनु भनेको २०० सय उद्योग पूर्णरूपमा बन्द हुनु हो । यिनमा कार्यरत करीब २० हजार मजदूर पूर्णरूपमा रोजगारी गुमाएर घरमा नै बस्नुपर्ने अवस्था हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले सञ्चालनमा रहेका उद्योगहरूले पनि आप्mनो उत्पादन ५० प्रतिशतभन्दा कममा झारेको जानकारी दिए । उनले भने, ‘अक्सिजन प्रयोग भएर चल्ने उद्योग पूर्ण ठप्प छन्, अन्य उद्योगको अवस्थासमेत बजार बन्द भएका कारण राम्रो छैन ।’

सामान्य अवस्थामा कोरिडोरका उद्योगले दैनिक ५० करोडको सामग्री उत्पादन गर्दै आएका थिए । यसबाट दैनिक १५ करोड भन्सार र मासिक ३५ करोड अन्तःशुल्क, ११ करोड मूल्य अभिवृद्धि कर र २७ करोड आयकर प्रभावित भएका छन् । औषधि, खाद्यान्न, अक्सिजनलगायत ५० उद्योग भने सञ्चालनमा रहेका छन् ।

उद्योगको उत्पादन ठप्प भएपछि त्यसले आयातनिर्यात समेत प्रभावित बनेको छ । यसबाट विराटनगर भन्सारले संकलन गर्दै आएको दैनिक १७ करोडको राजस्व अहिले ५ देखि १० करोडमा सीमित हँुदै आएको छ । विराटनगर भन्सार कार्यालयका निमित्त भन्सार अधिकृत गोपी उपे्रतीका अनुसार वैशाख महीनामा १०२ प्रतिशत राजस्व संकलन भएको छ । निषेधाज्ञाका कारण जेठ महीनामा लक्ष्यको ६० प्रतिशतमा खुम्चने अवस्था छ । त्यस्तै आन्तरिक राजस्व कार्यालयले मासिक रूपमा संकलन गर्दै आएको २२ करोड अन्तःशुल्क, १५ करोड भ्याट र २७ करोड राजश्व संकलन प्रभावित बनेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्