Logo

राष्ट्रपति भण्डारीविरुद्ध ‘महाभियोगको तयारी’



काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधरले महाभियोगको तयारी गरेका हुन् । यसबारे शिर्ष नेताहरुबीच छलफल समेत बढेको छ ।

महाभियोग लगाउनुपर्नेमा काँग्रेसको रामचन्द्र पौडेल पक्षले बढी जोड दिइरहेको छ । माओवादी केन्द्र पनि त्यसमा तयार देखिएको बुझिएको छ । हिजो नै काँग्रेस नेता गगन थापाले महाभियोग लगाउनुपर्ने बताइसकेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाभियोग लगाएर रापलाई बिदा गरौं ।’

संविधानको धारा १०१ मा महाभियोगबारे उल्लेख छ । धारा १०१ को उपधारा १ मा संविधान र कानूनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्ने उल्लेख छ । तर, त्यस्तो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा पदबाट मुक्त हुने व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय गरेपछि राजीनामा नदिएको अवस्थामै राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हानका लागि २१ घन्टाको समयमात्र दिई सूचना जारी गरेपछि महाभियोगसम्मको तयारी भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot