Logo

रामबहादुर थापालाई एकैदिनमा दुईवटा चोट



काठमाडौं, जेठ ७ । सर्वोच्च अदालतले नेकपा एकता बदर गरिदिएसँगै माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेतिर लागेपछि रामबहादुर थापा ‘बादल’ लाई बिहीबार एकैदिनमा दुईवटा चोट परेको छ ।दल त्याग गरेका कारण गैरसांसद हुनुभएका बादललाई मन्त्रीको हैसियतमा काम नगर्न-नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकै दिन हेटौंडामा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पनि उहाँ पराजित हुनुभएको छ ।

राष्ट्रिय सभा सदस्य पदमा कुल ५ हजार ८८ मतभार प्राप्त गरी नेकपा एमाले निकट डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । थापाले कुल ४ हजार १४ मत प्राप्त गर्नुभएको थियो । डा. देवकोटा वागमती प्रदेश नीति योजना आयोगका पूर्वउपाध्यक्ष हुनुहुन्छ । उहाँले २ वर्ष उपाध्यक्ष भएर काम गर्नुभएको थियो ।स्थानीय तहमा देवकोटाले १ सय २८ मत पाउँदा बादलले १ सय ३ मत मात्र पाउनुभयो । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले २ मत पाउनुभएको थियो । डा. खिमलालले पाउनुभएको १ सय २८ मतको मतभार २ हजार ३ सय ४ हुन्छ भने बादलले पाउनुभएको मतको मतभार १ हजार ८ सय ५४ हुन्छ ।प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाउनुभयो । बादलले पाएको ४५ मतको मतभार २ हजार १ सय ६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २ हजार ७ सय ८४ हुन्छ ।डा. देवकोटालाई विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनाउन एमालेकै माधव नेपाल समूहले भूमिका खेलेको थियो । त्यसपछि दबाबमा रहेका ओलीले पछिल्लो समय नेपाललगायत ४ नेताको कारबाही फुकुवा गर्दै वार्ता प्रक्रिया चलाएको थियो । तर, बिहीबारको मतदानमा नेपाल समूहले थापालाई सघाएन र देवकोटालाई मतदान ग-यो ।

गृहमन्त्री थापालाई सूर्य, नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल र कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नुभएका डा. देवकोटालाई कलम चुनाव चिह्न प्रदान गरिएको थियो ।उपनिर्वाचनमा प्रदेशसभाका १ सय १० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ सहित कुल ३ सय ४८ मतदाता रहे पनि सबैले मतदान गरेनन् । प्रदेशसभा सदस्यमा १ सय ५ जना र प्रदेशअन्तर्गत गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखमा २ सय ३३ जना गरी ३ सय ३७ जनाले मत खसालेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।मतदान प्रक्रियामा प्रदेशसभा सदस्य १ सय १० जनामध्ये १ सय ५ जना सहभागी भएको र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ३८ जनामध्ये २ सय ३२ जनाले मतदान गर्नुभएको थियो ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot