काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका नेता नेपालले सभापति देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलको क्रममा आफूहरु सामूहिक राजीनामा दिने तयारीमा जुटेको विश्वास दिलाएका थिए ।
नेता नेपालले आज दिउँसो २ बजेसम्म आफू पक्षधर सांसदहरुको राजीनामा आउने वचन दिएका छन् । उनले वैकल्पिक सरकार गठनको लागि अघि बढ्नसमेत देउवालाई आग्रह गरेको स्रोतको दाबी छ । देउवा निवासमा अहिले तीन जना नेताहरुबीच छलफल जारी छ । उनीहरुले आजै राष्टपति विद्यादेवी भण्डारीमाथि महाअभियोग ल्याउने र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे पनि छलफल गरेका छन् ।
राष्टपति भण्डारीले आज साँझ ५ बजेसम्मको समय दिएर धारा ७६ को ५ अनुसार सरकार गठन आह्वान गरेकी छिन् । सरकार गठनको लागि संवैधानिक प्रक्रिया नै मिचेको भन्दै अहिले प्रधानमन्त्री ओली र राष्टपति भण्डारीको चौतर्फी आलोचना भैरहेको छ ।
धारा ७६ को ३ बमोजिम प्रधानमन्त्रीको सपथ खाएका ओलीले विश्वासको मत पनि नलिएको र नयाँ सरकार गठनको लागि राजीनामा पनि नदिएको अवस्थामा कसरी धारा ७६ को ५ अनुसार सरकार गठन अघि बढ्छ ? भन्दै संविधानविद्हरुले प्रश्न उठाएका छन् । कतिपय अधिवक्ताहरुले पनि राष्टपतिमाथि तुरुन्तै महाअभियोग लगाउनुपर्ने सुझाव दिएका छन् । अहिले छलफल जारी छ । Photo : Mukunda Kalikote