मोरङ, ७ जेठ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जना बिहीबार दिउँसो पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१३ बस्ने २५ वर्षीय श्रवण साह, रंगेली नगरपालिका–१ बवियाविर्ता बस्ने २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर महानगरपालिका–१३ झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी रहेका छन् ।
विराटनगर महानगरपालिका(११ रोडशेष चोकमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रवणको साथबाट २१ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ, ५ थान विभिन्न बैंकका चेक र १ थान न्यू लाईफ सेभिङ एण्ड क्रेडिटको चेक तथा जिज्ञासाको साथबाट २३ हजार भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धान गर्ने क्रममा सोही कार्यमा संलग्न अमृत समेत रहेको खुल्न आएपछि प्रहरीले अमृतलाई उनकै घरबाट पक्राउ गरेको हो ।
अमृतको साथबाट २ थान मोबाइल, नगद भौचर र डिपोजिट रसिद समेत प्रहरीले बरामद गरेको छ । २०७७ चैत्र महिनादेखि हुण्डी कारोबार ह्वाट्स एप मार्फत विभिन्न बैंकको खाता नम्बरमा रकम जम्मा गर्ने र सोको विवरण समेत ह्वाट्स एप मार्फत पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाइने उक्त कार्यालयले जनाएको छ ।