Logo

माधव नेपाललाई ४१ एमाले सांसदको साथ, हस्ताक्षर संकलन



काठमाडौं, ७ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई पार्टीका ४१ जना प्रतिनिधि सभाको सांसदले साथ दिने भएका छन् । उनीहरुले नेपालले लिने कदममा साथ दिने गरी हस्ताक्षर समेत गरेका छन् ।

एमालेका १२१ सांसदमध्ये ४१ जना सांसदले नेपाललाई साथ दिई हस्ताक्षर गरे प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्ने पक्षमा पुगेको बुझिएको छ । नेता नेपाल निकट एक सांसदले बताए अनुसार हस्ताक्षर गर्नेमा अधिकांश प्रत्यक्ष निर्वाचित सांसद छन् ।

नेता नेपाल प्रधानमन्त्रीको मुख्य दाबेदार बनेपछि उनको पक्षमा बढी सांसद देखिएका हुन् । हस्ताक्षर गर्नेमध्ये थपिएका सांसदले नेपाललाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने अवस्थामा साथ दिएको बुझिएको छ । ओलीविरोधी गठबन्धनले नेपाललाई प्रधानमन्त्रीका रुपमा सार्ने सम्भावना बढेको छ ।

यसअघि नेपाल समूहमा २० प्रत्यक्ष र ८ समानुपातिक गरी २८ जना सांसद खुलेका थिए । नेपाल समूहले थप सांसदहरुको हस्ताक्षरको प्रयास गरिरहेको बुझिएको छ । यसका लागि उनका विश्वासपात्रहरु सक्रिय भएका छन् ।

प्रतिनिधिसभामा २७५ सदस्य संख्यामध्ये ४ निलम्बित र ४ सिट खाली छ । कुल २६७ मा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपाको उपेन्द्र यादव समूहका १६ गरी १२६ सदस्य संख्या पुग्छ । माधव नेपाल समूहले ४१ सांसद पुर्याएको अवस्थामा १६७ सदस्य संख्या पुग्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot