Logo

हस्ताक्षरमा माधव समूहका यी सांसदको आपत्ती



काठमाडौं, ७ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पक्षीय सांसदको हस्ताक्षर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रयोग गरे । तर, जब हस्ताक्षर राष्ट्रपति कार्यालय शितलनिवास पुग्यो तब धमाधम उनी पक्षीय केही सांसदले हस्ताक्षर दुरुपयोग भएको प्रतिक्रिया दिए । खास कुरा नेपाल नै प्रधानमन्त्रीको दाबेदार हुन्छन् भन्ने रहेछ । नेपाललाई प्रधानमन्त्रीका लागि बढ्ने भए साथ दिन्छौं भन्ने ४० सांसद पुगिसकेका थिए । तर, देउवा बढेपछि उनकै पक्षका सांसदहरु असन्तुष्ट भएका छन् ।

अहिले शितलनिवासमा पत्र पुगेपछि धमाधम विरोधको स्वर आउन थालेको छ । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भनी बोल्ने सांसदहरुमा सुरेन्द्र पाण्डे पनि छन् । पाण्डे नेकपा एमालेको नवौं महाधिवेशनमा माधव नेपाल अध्यक्षको उम्मेदवार बन्दा उक्त गुटबाट महासचिवका उम्मेदवार थिए । उनी वर्तमान महासचिव इश्वर पोखरेलसँग झीनो मतान्तरले पराजित भएका थिए ।

हस्ताक्षर अस्वीकार गर्नेमा योगेश भट्टराई पनि हुन् । उनी ओली सरकारमा विगतमा पर्यटनमन्त्री थिए । भट्टराई माधव नेपाल समूहका हस्ती मानिन्छन् ।

गोकर्ण बिष्टले पनि हस्ताक्षर अस्वीकार गरेका छन् । उनी नेपालका विश्वासपात्र मानिन्थे । तर, पछिल्लो समय एमाले विभाजनको विपक्षमा उभिएका छन् ।

घनश्याम भुसालको चाहना पनि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगर्ने नै थियो । उनको चाहना माधव नेपाललाई नै बढाउने थियो । तर, देउवा बढेपछि उनले पनि हस्ताक्षरमा विरोध गर्ने संकेत गरिसकेका छन् ।

सुनसरीको धरान क्षेत्रबाट चुनाव जितेका जयकुमार राई पनि छन् । उनले सुनसरी क्षेत्र नं १ बाट चुनाव जितेका हुन् ।

प्रत्यक्षतर्फ निर्वाचित ४ एमाले सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका छन् । यसले देउवाले बुझाएको आजको हस्ताक्षरमा तलमाथि हुनसक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्