मोरङ, जेठ ८ । विराटनगरस्थित कोसी अस्पतालले भेन्टिलटरसहितको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोनाको बढ्दो संक्रमणले विराटनगरका अस्पतालमा संक्रमित बिरामीको चाप थेगिनसक्नु भएका बेला कोसी अस्पतालले थप ६२ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो।
कोरोना अस्पतालको विराटनगरका मेयर भीम पराजुली, कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।चुमनलाल दासलगायतले उद्घाटन गरेका छन्। कोरोना संक्रमित बिरामीलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अस्पतालमा अक्सिजन, भेन्टिलेटर, एचडियुलगायत सुविधा रहेका छन्।
दुईतले भवनमा सञ्चालन गरिएको अस्पतालको भुइँतलामा दुईवटा ब्लगमा अक्सिजनसहित ३२ वटा बेड छन्। यस्तै पहिलो तलामा ५ बेडको भेन्टिलेटर र २५ बेडको एचडियु रहेको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिए।
यसअघि विराटनगरमा कोसी अञ्चल अस्पतालले नै कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको थियो। कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा विराटनगरलगायत प्रदेश १ मा बिरामीको संख्या दिनानुदिन बढ्दो छ। नागरिक दैनिकबाट