Logo

अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोगमा देउवा किन मानेनन्



काठमाडौं, ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठको साँझ बहुमतको सरकारको लागि आव्हान भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धन रणनीति निर्माणमा सक्रिय भएका थिए । विभिन्न विकल्पमा छलफल गरेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोगको विषयमा पनि छलफल गरे ।

एमाले नेता माधव नेपालले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर बढ्न भन्दा देउवाले नमानेको बुझिएको छ । उनले धारा ७६ को उपधारा ५ बमोजिम नै बहुमतको सरकार निर्माणमा जानुपर्नेमा जोड दिएका थिए । देउवाको रणनीति आफै बहुमतको प्रधानमन्त्री बन्नेमा थियो । अविश्वासको प्रस्तावमा जाँदा परिस्थिति फरक हुनसक्ने उनको आँकलन थियो ।

अविश्वासको प्रस्ताव र महाभियोगमा जानुपर्नेमा काँग्रेसभित्रको रामचन्द्र पौडेल पक्षधरको जोड थियो । तर, देउवा त्यो हदसम्म अगाडि बढ्न तयार देखिएनन् ।

अहिले ओलीविरोधी गठबन्धनभित्र देउवा कडा रुपमा बढ्न नचाहँदा ओलीले मौका पाएको विश्लेषण भइरहेको छ । विगतमा माधव नेपाल समूहले अविश्वासको प्रस्तावमा जोड दिंदा पनि देउवा रोकिएका थिए । उनले अवस्था नबनिसकेको भनेका थिए । यसबाट देउवाको शैलीप्रति प्रचण्ड र माधव नेपालले असन्तुष्टि जनाएको बुझिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पनि चिढिएका छन् ।



प्रतिक्रिया दिनुहोस्