काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन नसक्ने टिप्पणी गरेका छन् ।
बिहीबार राति मन्तिपरिषदको बैठकले संसद विघटन गर्न सिफारिस गरेर प्रतिनिधी सभाको नयाँ मिति घोषणा गरे लगत्तै कांग्रेस नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् ।
नेता सिंहले सामाजिक सञ्जालमार्फत लेखेका छन्,- “नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो । तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ । अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् । जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ । यो निकृष्ट कर्म हो । प्रधानमन्त्री र राष्ट्रपतिको योजनाबद्ध षडयन्त्रबाट संसद माथि प्रहार गरेर संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त गर्न खोजिएको घटनाको जति भत्सर्ना गरेपनि कम नै हुन्छ । देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन सक्दैन । मध्यरातमा चालिएको असंवैधानिक कदमको म घोर भर्सना गर्दछु । बाचौं र बचाऔं ।
जय नेपाल ।”