काठमाडौं, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पौषमा पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ‘चुनाव’को रटान लगाइरहे । ओलीको कदमको विरोध गर्दै काँग्रेभित्रको रामचन्द्र पौडेल पक्षधर खरो रुपमा प्रस्तुत भयो । आन्दोलनलाई उचाईमा पुर्याउनुपर्नेमा जोड दिइरह्यो । तर, आन्दोलन गर्न पैसा छैन भन्दै देउवा देश मध्यावधिमा जाने भन्दै चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिइरहे ।
प्रतिनिधि सभा विघटन पूर्व संवैधानिक परिषद्को बैठक बसी ओलीले अध्यादेशमार्फत् संवैधानिक निकायमा नियुक्तिहरु गरे । जसमा देउवानिकटस्थ केहीले मौका पाए । यसबाट उनीमाथि ओलीसँग मिलेमताको आशंकाले बल पायो । त्यसपछि देउवा ओलीको प्रतिनिधि सभा विघटनको कदमलाई घुमाउरो तरिकाले साथ दिइरहे ।
नुवाकोटमा पार्टी कार्यालय उदघाटनको कार्यक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंहले ओलीको प्रतिनिधि सभा विघटनविरुद्ध कडा रुपमा उत्रनुपर्ने भनेपछि बोलेका देउवाले ‘चुनाव चुनाव चुनाव’ भने । उनले मध्यावधि चुनावमै आफ्नो राजनीतिक भविष्य देखे ।
प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने प्रचण्ड र माधवकुमार नेपालको प्रस्तावलाई देउवाले अस्वीकार गरेका थिए । यतिसम्मकी प्रतिनिधि सभा पुनःस्थापनापछि देउवालाई नै प्रधानमन्त्रीको प्रस्ताव गरेर अगाडि बढ्ने प्रस्ताव प्रचण्ड र नेपालले बुढानिलकण्ठमै गएर गरे । तर, देउवा तयार भएनन् । उनलाई प्रधानमन्त्रीको प्रस्ताव पुगेको खबर बालुवाटारमा छिट्टै पुग्यो । अनि ओलीले प्रचण्ड र नेपालतर्फ व्यङ्ग्य गर्दै भने, ‘प्रधानमन्त्री खाइदिनुपर्यो भन्न जाने !’
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको ११ फागुनको फैसला विपक्षमा आयो । प्रतिनिधि सभा पुनःस्थापना भयो । त्यसपछि नेकपाभित्र विवाद चलिरहेको थियो ।
प्रचण्ड र नेपालले फेरि देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरे । देउवा तयार भएनन् । प्रचण्ड र नेपाल हार खाएर फर्किए । ओलीले फेरि आफूलाई मजबुत बनाउँदै लगे ।
२३ फागुनमा सर्वोच्च अदालतको फैसलाले नेकपाबाट एमाले र माओवादी केन्द्र ब्युँतियो । त्यसपछि बनेको एमालेमा माधव नेपाल समूह विद्रोहका लागि तयार भयो । त्यतिबेला नेपालसँग ४० भन्दा बढी सांसद थिए । प्रचण्ड र नेपालले फेरि देउवालाई अगाडि बढ्न आग्रह गरे । तर, देउवा मानेनन् । प्रचण्डलाई ४ प्रत्यक्ष निर्वाचित सांसदले साथ छाडिसकेका थिए । नेपाललाई पनि उनी पक्षधर सांसदहरुले धमाधम साथ छाड्न थाले । ओलीले त्यतिञ्जेल शक्ति सञ्चय गर्ने मौका पाए ।
देउवा अगाडि बढ्न नमान्दा प्रचण्ड र नेपालको शक्ति क्षय भइरह्यो । ओली झन् शक्तिशाली बनिरहे ।
फेरि पनि बहुमतको सरकार गठनको प्रयासका लागि नेपालले आफू पक्षीय सांसदहरुलाई राजीनामासम्मका लागि तयार पारे । जसपा अध्यक्ष उपेन्द्र यादव पनि आफू पक्षीय सांसदहरुलाई गुट परिवर्तनबाट रोक्न लागिरहे । त्यो अवधिमा पनि देउवा बढ्न तयार भएनन् । समय परिपक्व नभइसकेको भनिरहे । राजनीति तरल अवस्थामा रहेको यसै भन्न नसकिने बताए ।
समय ढिलो भइसकेको थियो । चतुर ओलीले एउटा निर्णय गर्दा त्यसपछिका २० भन्दा बढी राजनीतिक चाल सोचिसकेका हुन्थे । देउवा भने मौकाको पर्खाइमा बसे । ओली जोखिम मोल्दै बढिरहे । देउवा च्याखे थापेको शैलीमा कुरिरहे । त्यसैले ७ जेठमा पत्रकार सम्मेलन गर्दै ओलीले देउवातर्फ व्यङ्ग्य गर्दै भने, ‘मैंले किस्तीमा प्रधानमन्त्री पद टक्राउनुपर्ने ।’
मौका कुर्दा कुर्दा असजिलो अवस्था आएपछि देउवाले ७ जेठमा बहुमत प्रतिनिधि सभा सदस्यको हस्ताक्षर बोकेर राष्ट्रपति भवन शितलनिवासमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई लिएर गए । तर, उनीभन्दा अगाडि नै ओली आफूसहित महन्थ ठाकुर र राजेन्द्र महतोको हस्ताक्षर बोकेर पुगिसकेका थिए । देउवा प्रधानमन्त्री बन्ने तिथि र साइत कुरेर बसे । ओली २० चाल पछाडिको सोचेर बढिरहे । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ लिएर प्रतिनिधि सभा विघटन र चुनाव घोषणा गरे ।
एक वर्ष अगावै देश चुनावमा जाने गरी घोषण भयो । देउवाले रटान लगाउँदै गरेको चुनाव को ओलीले समय तोकिदिए । तर, देउवा नराम्ररी चुके । साइत कुर्दा कुर्दा ओलीले उनको साइत नै बिगारिदिए ।