Logo

सिमेन्टको माग वार्षिक २ करोड ५८ लाख पुग्ने प्रक्षेपण



काठमाडौं, जेठ ९ । ५ वर्षभित्र नेपालमा सिमेन्टको माग अहिलेको भन्दा दोब्बरभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । ठूला पूर्वाधारका आयोजनाहरू निर्माणाधीन रहेको र नयाँ आयोजनाहरू पनि कार्यान्वयनमा जाने भन्दै सन् २०२५ सम्ममा नेपालमा सिमेन्टको माग वार्षिक २ करोड ५८ लाख मेट्रिक टन (मेटन) पुग्ने प्रक्षेपण नेपाल राष्ट्र बैंक गरेको छ ।

२०२०र२१ लाई आधार वर्ष मान्दै केन्द्रीय बैंकले आगामी ५ वर्षसम्ममा सिमेन्टको माग बढ्दै जाने प्रक्षेपण गरेको हो । अहिले नेपालको आन्तरिक बजारमा सिमेन्टको माग झन्डै करोड नजिक अर्थात् ९० लाख ५० हजार मेटन रहेको छ । हाल सञ्चालनमा आएका ५५ सिमेन्ट उद्योगहरूको वार्षिक कुुल जडितक्षमता भने १ करोड ५० लाख मेटन रहेको छ । केन्द्रीय बैंकका अनुसार सबै सिमेन्टहरू उत्पादन क्षमताअनुसार सञ्चालनमा आएका छैनन् । अर्थात् पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् ।

‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानी स् आर्थिक सामाजिक प्रभावको अध्ययनसम्बन्धी प्रतिवेदन’ शुक्रवार सार्वजनिक गर्दै केन्द्रीय बैंकले राष्ट्रिय गौरवका आयोजनाहरू, गौतम बुद्ध, पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन रहेको र अरू मेगा प्रोजेक्टहरू पनि पाइपलाइनमा रहेकाले सिमेन्टको माग बढ्ने प्रक्षेपण गरेको छ । पाइपलाइनमा रहेका बूढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो मर्स्याङ्दी जलविद्युत् ९दोस्रो०, कालिगण्डकी गर्ज, आँखु खोला जलविद्युत्जस्ता आयोजनाहरूका कारण पनि आगामी वर्षहरूमा सिमेन्टको माग बढ्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, प्रत्यक्ष वैदेशिक लगानीका उद्योगहरू थप खोल्न दिन पनि केन्द्रीय बैंकले सुझाव दिएको छ । नेपालमा उपलब्ध चुनढुंगा खानीलाई उपयोगमा ल्याई आन्तरिक माग परिपूर्ति गर्न, आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिनु उपयुक्त हुने सुझाव केन्द्रीय बैंकले दिएको छ । उसले अहिले पनि वार्षिक रूपमा १५ लाख ६० हजार मेटन सिमेन्ट आयात भएको भन्दै यसलाई कटौती गर्न आन्तरिक उत्पादन क्षमताअनुसार नै उत्पादन गर्न पनि सुझाव दिएको छ ।

तर, नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले भने राष्ट्र बैंकले वैदेशिक लगानीमा उद्योग खोल्न दिएको सुझावमा असन्तुष्ट व्यक्त गरेका छन् । ‘हामीले विगत वर्षहरूदेखि नै सिमेन्ट उद्योगमा वैदेशिक लगानी ल्याउन नहुने भन्दै सरकारलाई पटक पटक पत्राचार गरेका छौं,’ उनले भने ‘अहिले नेपाली सिमेन्ट उद्योगहरूबाट नै आन्तरिक माग परिपूर्ति हुने र निर्यात गर्ने क्षमता राख्छन् र सस्तोमा पनि सिमेन्ट विक्री गरिरहेका छौं ।’

क्लिंकर तथा सिमेन्ट उत्पादन र लगानी पनि नेपाली लगानीकर्ताहरूबाटै भएका बेला विदेशी लगानीमा उद्योग खोल्नु भन्नु गलत भएको उनले बताए । केन्द्रीय बैंकको यो सुझाव सच्याउन आवश्यक भएको भन्दै उनले यसले नेपाली सिमेन्ट उद्योगीलाई निरुत्साहित गर्ने दाबी गरे । मुलुकमा सञ्चालित स्वदेशी निजी, सरकारी र विदेशी लगानीमा ५५ भन्दा बढी सिमेन्ट उद्योगहरू सञ्चालनमा छन् । उनीहरूको उत्पादन क्षमता वार्षिक १ करोड ५० लाख भए पनि अहिले पनि सिमेन्ट आयात भइरहेको छ ।

आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्