Logo

माधव नेपालले नयाँ पार्टी खोल्ने, थाले तयारी



काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षले नयाँ पार्टी खोल्ने तयारी गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनमा उभिएको यो समूहले नयाँ पार्टी खोल्ने अन्तिम तयारी गरेको हो । हिजोमात्रै यो समूहको स्थायी कमिटी सदस्यहरुको बैठक बसेको र अब नयाँ पार्टी खोलेर अघि बढ्ने निश्कर्ष निकालेको हो ।

संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्दै नेपाल समूहका २६ जना सांसदहरुको हस्ताक्षर गरेका थिए । देउवालाई प्रधानमन्त्री बनाउनको लागि १४९ जना सांसदहरुको हस्ताक्षर शितलनिवास पुगेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी गठबन्धनभन्दा अघि नै नेकपा (एमाले) को १२१ र जसपाको ३२ सांसद गरी १५३ जनाका सांसदको आफूलाई साथ रहेको भन्दै सरकारको नेतृत्व गर्न दाबी गर्न गएका थिए ।

प्रधानमन्त्रीमा देउवा र ओली दुवैको दाबी नपुगेको भन्दै मध्यराति राष्टपति कार्यालयले विज्ञप्ती जारी गरेको थियो । लगत्तै, मन्त्रिपरिषद बैठक राखेर प्रधानमन्त्री अ‍ोलीले संसद् विघटन र चुनाव गर्ने मिति घोषणा गरेका थिए । मन्त्रिपरिषदको निर्णय शितलनिवास पुगेलगत्तै राष्टपतिले संसद् विघटन भएको र चुनावको मिति घोषणा गरेकी थिईन् । विपक्षी गठबन्धन भने संसद् विघटन गर्ने कदमको विरुद्धमा उभिएको छ । र, यसको कानूनी र राजनीतिक उपचार खोज्ने निर्णयका साथ आज १४९ जना सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च अदालतले जाने तयारी छ ।

हिजोमात्रै, एमाले स्थायी कमिटी बैठक राखेर अध्यक्ष ओलीले माधव नेपालसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन् । उनले नेपाल पक्षलाई कारबाही अघि बढाएका छन् । तर, ओलीले गर्ने कारबाहीको केही अर्थ नहुने नेता नेपालको टिप्पणी छ । आफूहरुनिकट नेताहरुसँगको छलफलपछि नेता नेपाल अब नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् ।

सम्भवतः यही हप्ता नयाँ पार्टी घोषणा हुने नेपालनिकट एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनले आफूहरु पार्टी एकताको लागि र संसद् विघटन नहोस भनेर धेरै हदसम्म लचकता अपनाएको भएपनि ओलीले प्रतिगामी कदम चालिछाडेकोले अब एमालेको एकता असम्भव भएको र आफूहरु धेरै अघि बढिसकेको जनाए । नेता नेपालले गठन गर्ने पार्टीमा वामदेव गौतमको पनि सहभागिता रहने बुझिएको छ । गौतमले यसअघि नै पार्टी फुटाए आफ्नो साथ रहने प्रतिबद्धता जनाएका छन् । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्