काठमाडौं, ९ जेठ । नेकपा (एमाले) फुटको डिलमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका नेताहरुलाई कारबाही प्रक्रिया थालेको बेलामा नेता नेपालले पनि नयाँ पार्टी खोल्ने अन्तिम तयारी गरेका छन् । तर, दुवै पक्षका नेताहरु पार्टी एकता जोगाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा आफ्नो धारणा राखिरहेका छन् ।
नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्दै २६ सांसदले हस्ताक्षर गरेर आफूलाइ विपक्षी गठबन्धनमा उभ्याएको छ । संसद् विघटन प्रतिगमन हो भन्दै विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाँदैछ । १४९ सांसदहरु नागरिकतासहित हस्ताक्षरको लागि सिंहदरबारमा भेला भएका छन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेर अध्यक्ष ओली क्याम्पमा फर्किएका एमाले नेता तथा सांसद योगेश भट्टराईले भने आज सबैले आफ्नो विगतलाई हेर्नुपर्ने बताएका छन् । र, उनले धैर्य गर्न र सम्वाद गर्न सुझाएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्-“कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ । धैर्य गरौ, संवाद गरौ ।”