काठमाडौं, ९ जेठ । नेकपा छदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफूलाई आक्रामक रुपमा प्रस्तुत गरे । उनी पुष्पकमल दाहाल प्रचण्डभन्दा बढी ओलीका आलोचक थिए । तर, नेपालभन्दा ओलीको बढी आलोचक थिए भीम रावल ।
नेकपा हुँदा होस् या नेकपा एमाले हुँदा नै किन नहोस् माधव नेपालको ओलीसँगको शक्तिसंघर्षमा भीम रावल अगाडि देखिए । नेकपा हुँदा नेपालसँग पूर्वएमालेका ४० भन्दा बढी सांसदको साथ थियो । तीमध्ये आधाभन्दा बढी प्रत्यक्ष निर्वाचित सांसद थिए । स्थायी कमिटीमा पनि ओलीसँग भन्दा बढी सदस्य नेपालसँग थियो । एमाले बनेपछि त्यो संख्या घट्दै गयो ।
ओलीसँग शक्तिसंघर्ष बढ्दै जाँदा नेपाल लगातार असफल भइरहे । उनी कमजोर हुँदै गएको ठानेर आफ्नैले साथ छाड्नथाले । नवौं महाधिवेशनमा माधव नेपालको प्यानलबाट पदाधिकारीमा चुनाव लडेकाहरुले समेत साथ छाडे । निर्णायक संघर्षमा नेपाल समूहबाट महासचिवमा चुनाव लडेका सुरेन्द्र पाण्डेले नै साथ छाडे ।
ओलीविरुद्धको बहुमतको गठबन्धन सरकार निर्माणका लागि गरिएको हस्ताक्षरमा पाण्डे मात्र नभई गोकर्ण बिष्ट र योगेश भट्टराई नै पछि हटे । जयकुमार राईले हस्ताक्षर दुरुपयोग भएको भने । कृष्णभक्त पोखरेलले पहिल्यै नेपालको साथ छाडिसकेका थिए ।
नेपाललाई एकपछि अर्को गर्दै हस्ती भनिएका नेता र सांसदले साथ छाड्दा पनि भीम रावल शतिशाल जस्तै उभिए । संघर्षको मैदानमा ठूलै चुनौती आउँदा सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई नै पन्छिए । बिष्ट र भट्टराई ओलीको साथमा पुगे । उनीहरु अझै पनि स्यान्डविचजस्तो तटस्थ देखिन खोजेका छन् ।
अहिले एमालेको हेभिवेटमध्ये भीम रावल र अष्टलक्ष्मी शाक्य नेपाललाई दरिलोसँग साथ दिइरहेका छन् । झलनाथ खनाल पनि सशक्त रुपमा उभिएका छन् । नेपालको पक्षमा सशक्त रुपमा उभिएर सक्रिय भूमिका निभाउनेमा रावल नै अग्रिम मोर्चामा देखिएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका भीम रावल एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन् । सुदूरपश्चिममा उनको बलियो पकड छ । कतिपयले सुदूरपश्चिममा शेरबहादुर देउवापछिको बलियो नेतामा रावललाई नै लिने गरेका छन् । गृहमन्त्रीको समेत अनुभव सँगालेका रावल कडा अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् ।