Logo

ओली किन अति ढुक्क



काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा विघटन गराउने कदमविरुद्ध विपक्षी गठबन्धन निवर्तमान १४९ सांसदहरुको हस्ताक्षर संकलनमा व्यस्त हुँदा प्रधानमन्त्री केपी शर्मा ओली पत्रकार सम्मेलनमा समय बिताइरहेका थिए । उनले २ घन्टा पत्रकार सम्मेलनमा बोले र प्रश्नको उत्तर दिए । ओली अति ढुक्क देखिन्थे ।

७ जेठमा विपक्षी गठबन्धन बहुमत पुर्याउन सक्रिय भइरहँदा ओली यसरी नै पत्रकार सम्मेलनमा देखिए । उनी सोही दिन पनि ढुक्क थिए । नभन्दै साँझ जसपाका अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षरसहित बहुमतको दाबी गर्न पुगे । राष्ट्रपति विद्यादेवी भण्डारीले ओली र काँग्रेस सभापति शेरबहादुर देउवा दुवैको बहुमत दाबी नपुगेको भनी प्रतिनिधि सभा विघटन गरी निर्वाचनको घोषणा गरिन् । ओलीले चाहेकै यही थियो जुन भयो ।

आजको पत्रकार सम्मेलनमा पनि ओली अति ढुक्क देखिए । उनले विपक्षी गठबन्धनप्रति व्यङ्ग्य गरे । प्रचण्ड र माधवकुमार नेपालको चुनावमा बेहाल हुने ठोकुवा गरे । चुनावबाट भाग्न खोजेको र तर्सेको आरोप समेत लगाए । ओली अति ढुक्क भई यसो भनिरहेका थिए ।

काँग्रेस सभापति शेरबहादुर देउवामाथि प्रचण्डको पछि लागेको आरोप लगाए । उनले काँग्रेसले प्रचण्डपथ अँगालेको आरोप समेत लगाए ।

ओली पत्रकार सम्मेलनमा समय बिताइरहँदा विपक्षी गठबन्धन भने १४९ सांसदमध्ये सबैको हस्ताक्षर गराउन सकिरहेका थिएनन् । एमालेका २६ मध्ये २० मात्र हस्ताक्षरमा पुगे । जसपाको पनि सबै हस्ताक्षरकर्ता पुगेनन् । यसले विपक्षी गठबन्धनको रिट दर्ता प्रक्रिया नै अलमलमा पुर्यो ।



प्रतिक्रिया दिनुहोस्