काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी औपचारिक रुपमा विभाजन हुन मात्र बाँकी रहेको छ । अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनमा सहभागी छन् ।
यादवले ठाकुर समूहमाथि ओलीलाई साथ दिएको भन्दै कार्यकारिणी समितिबाट निर्णय गराएर स्पष्टिकरण सोधेका छन् । ओलीलाई साथ दिने ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोमाथि ८ जेठमा नै स्पष्टिकरण सोधिएको छ ।
बदलामा अध्यक्ष ठाकुरले पनि उपेन्द्र यादवसँग स्पष्टिकरण सोधेका छन् । आज ठाकुरले कार्यकारिणी समितिको निर्णय भन्दै स्पष्टिकरण सोधेका हुन् । एक अर्कामाथि स्पष्टिकरण सोधेर दुवै अध्यक्षले एक अर्कामाथि कारबाहीको तयारी गरेका छन् । यसले जसपाभित्रको द्वन्द्व रोचक मोडमा पुगेको छ ।
जसपाभित्र कार्यकारिणीमा दुवै पक्षले आफ्नो बहुमतको दाबी गरेका छन् । निर्वाचन घोषणा भइसकेकाले जसपा विभाजिन भएमा जुन पक्ष अल्पमतमा पर्छ त्यो पक्ष फुटेर जाँदा नयाँ दल खोल्न पनि मिल्दैन । यसले जसपाभित्रको विवाद रोचक मोडमा पुगेको छ ।-फाइल तस्बिर