Logo

ओलीले भोलि मन्त्रिरिषद विस्तार गर्ने, जसपाबाट महतोको नेतृत्वमा दश जना सहभागी हुने



काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भोलि नै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी गराउने तयारीमा जुटेका छन् । जसपानिकट विश्वस्त सूत्रले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले जसपाको ठाकुर पक्षले उठाउँदै आएकाहरु एकपछि अर्को गरेर पूरा गर्दै गएकोले अब सरकारमा सहभागी हुनको लागि स्वयम जसपाका शीर्ष नेताहरु पनि तयार देखिएका छन् ।

आजमात्रै सरकारको सिफारिशमा राष्टपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । उक्त अध्यादेशलाई ठाकुर महतो पक्षले स्वागत गरिसकेको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीको कदमलाई जसपाको ठाकुर महतो पक्षले साथ दिँदै आएको छ । कतिसम्म भने ओलीलाई सघाउ पुर्याउनको लागि ठाकुर पक्ष तटस्थ बस्दै आएको छ ।

वैकल्पिक सरकारको नेतृत्व गर्ने अवसर पाउँदापनि ठाकुर त्यसको लागि तयार भएनन् । उनी ओलीसँग आफूहरुको सकारात्मक कुरा भएको भन्दै तटस्थ बस्ने बताउँदै आएका छन् । नागरिकतासम्बन्धी अध्यादेश आएपछि अब जसपाको ठाकुर पक्ष सरकारमा जाने बाटो खुलेको छ । हिजोमात्रै, प्रधानमन्त्री ओलीसँग ठाकुर र महतोले सत्ता सहकार्यको बारेमा गम्भीर छलफल गरेका छन्।

प्रधानमन्त्री ओली जसपालाई दश वटा मन्त्रालय दिन राजी भएका छन् । यसअघि पूर्व माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई अदालतले पदमुक्त गरेपछि ७ वटा मन्त्रालय ओली आँफैले राखेका छन् । ओली सरकारमा राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित सहभागी हुने चर्चा छ। उनीसँग राजकिशोर यादव, अनिल झा, शरदसिंह भण्डारी र चन्दा चौधरीलगायतको नाम पनि मन्त्री बन्ने चर्चामा छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्