Logo

ठाकुरसहितका चार नेताले स्पष्टीकरण नदिने



काठमाडौं, जेठ १० । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले अर्का अध्यक्ष उपेन्द्र यादव समूहबाट सोधिएको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।

यादवको अध्यक्षतामा शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्य उपस्थित बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ‘विधानले दुवै अध्यक्षको उपस्थितिमा भएका निर्णयलाई मात्रै मान्छ । उहाँहरू (यादव पक्ष) को बैठक नै वैधानिक छैन भने स्पष्टीकरण दिने कुरै आउँदैन,’ नेता शरतसिंह भण्डारीले भने ।

अध्यक्ष ठाकुरसहितको पूर्वराजपा धार प्रधानमन्त्री ओलीतिर छ । यो पक्षको संसदीय दलमा बहुमत भए पनि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा अल्पमत छ । ठाकुर पक्षको आइतबार बबरमहलस्थित कार्यालयमा बसेको बैठकले दुई अध्यक्षबिनाको निर्णय वैधानिक नहुने निर्णय लिएको छ । ‘जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

पूर्वराजपा धारले आफूहरूले उठाएका माग पूरा भए सरकारमै सहभागी हुने जनाएको छ । प्रधानमन्त्री ओलीले ठाकुर पक्षको साथ लिन मधेस र थरुहट आन्दोलनका क्रममा कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता गरेका छन् । नागरिकतासम्बन्धी अध्यादेश पनि जारी भइसकेको छ । संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषय प्रक्रियामा छन् । कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot