काठमाडौं, १० जेठ । मापदण्ड विपरीतका स्यानिटाइजर सहित ३ जना पक्राउ परेका छन् । मापदण्ड विपरीतका स्यानिटाइजर सहित ३ जनालाई काठमाडौंका विभिन्न उद्योगबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने सोही महानगरपालिका–२२ घर भएका उत्सब डिटर्जेण्ट एण्ड कस्मेटिक उद्योगका संचालक ४३ वर्षीय कमल अग्रवाल, सोही उद्योगका प्रोपाईटर ४८ वर्षीय राकेश अग्रवाल र काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने लामा समिप इन्टरप्राइजेज प्रालिका संचालक ४२ वर्षीय सुमन लामा रहेका छन् ।
प्रहरीले उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक कम्पनी लिमिटेड काठमाडौं बालाजुबाट आइपिए रसायन भएको २ सय लिटरका ८ थान ड्रम, स्यानिटाइजर बनाउने रसायन २ सय लिटरका ७ थान ड्रम, पिजि एलएलपि र ग्लाईसिन रहेको २ सय लिटरका ५ थान ड्रम, ५ सय मिलिमिटरका १ सय २७ कार्टुन स्यानिटाइजर, १ सय मिलिलिटरका ३५ कार्टुन स्यानिटाइजर, ५ लिटरका ४० कार्टुन स्यानिटाइजर, १ लिटरका २ कार्टुन स्यानिटाइजर, मूल्य तथा मिति लेवलिङ प्रयोग गर्ने ३ थान मेसिन र कमल अग्रवालको नाममा दर्ता भएको उत्सव डिटर्जेन्ट एण्ड कस्मेटिक उद्योगको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र, सोही कम्पनीको काठमाडौं स्वयम्भूबाट १ सय मिलिलिटरका ७८ कार्टुन स्यानिटाइजर, ५ सय मिलिलिटरका २२ कार्टुन स्यानिटाइजर, ५ लिटरका २१ कार्टुन स्यानिटाइजर र १ सय मिलिलिटरका स्यानिटाइजर ५८ किरेट समेत प्रहरीले बरामद गरेको जनाएको छ ।
यसैगरी सुमन लामाको समिप इन्टरप्राइजेज प्रालिबाट विना इजाजत उत्पादन गरिएका ५ लिटरका २ सय ९५ ग्यालिन गरी १ हजार ४ सय ७५ लिटर स्यानिटाइजर प्रहरीले बरामद गरेको बताएको छ । उनीहरू माथि थप अनुसन्धान भईरहेको उक्त महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।