सिमकोट, १० जेठ: कोरोना सङ्क्रमणको बढी बिरामी रहेका हुम्लाको दक्षिण क्षेत्रमा रहेको चारवटा गाउँपालिकामा चिकित्सकको टोली खटाइएको छ । सङ्क्रमणको नियन्त्रण तथा अनुगमनका लागी जिल्ला अस्पताल हुम्लाबाट डा. कैलाश लामाको नेतृत्वमा चार स्वास्थ्यकर्मीको टोली आइतबार त्यसतर्फ लागेको जिल्ला अस्पताले जनाएको छ ।
गाउँ प्रस्थान गरेको स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको उपचार, क्वोरन्टाइन र आइसोलेशनको अवस्था अनुगमन र स्वास्थ्यकर्मीलाई कोरोना उपचार तथा ल्याबका कर्मचारीलाई कोरोना परीक्षणसम्बन्धी तालीम दिने जिल्ला अस्पतालका डा टसी आन्जुक लामाले बताए । उनका अनुसार दक्षिण भेगबाट कोरोना नियन्त्रणका लागि स्थानीयवासीले चिकित्सकको टोली पठाउन माग गरेका कारण पठाइएको हो ।
टोलीले दक्षिणी क्षेत्रका सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा पुगेर कोरोना सङ्क्रमितका साथै गाउँघरका अन्य बिरामीको समेत उपचार गर्ने छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछिको पहिलोपटक गाउँगाउँमा चिकित्सकको टोली खटाइएको हो । यसअघि गाउँपालिकाका स्वास्थ्यकर्मीबाट कोरोना जाँच र सङ्क्रमितको उपचार हुँदै आएको थियो । दक्षिण भेगमा रहेका चारवटा गाउँपलकिामा मात्रै ७८ जना कोरोना सङ्क्रमित रहेका ताँजाकोट गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले बताए ।-रासस