Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिने



काठमाडौं १० जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिने भएकाे छ । दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो ।

अहिलेको अवस्थामा निषेधाज्ञालाई निरन्तरता दिनुको विकल्प नरहेकाे सर्वपक्षीय छलफलको निष्कर्षलाई उद्धृत गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

उनका अनुसार अब काठमाडौं उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ। विशेषगरी तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको उनले बताए। ‘तरकारी पसल एक साताका लागि बन्द गर्ने हो वा यहाँ हुने भिडभाड कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा छलफल भइरहेको छ,’ पराजुलीले भने।

तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका थिए। उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ। त्यसअगावै प्रशासनले थप एक साताको निषेधाज्ञा आदेश जारी गर्दैछ। यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूमा पनि हालको उपस्थितिबारे छलफल हुने भएको छ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्