Logo

नेपालमै अक्सिजन सिलिन्डर उत्पादनको प्रस्ताव



कपिलवस्तु, जेठ ११ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को अगुवाइमा नेपालमै तयार पारिएको अक्सिजन सिलिन्डरको व्यावसायिक उत्पादनका लागि विभिन्न व्यावसायिक घराना र उद्योगले प्रस्ताव राखेका छन् ।

अक्सिजन सिलिन्डरको दोस्रो चरणको परीक्षण बाँकी छ । तर परीक्षण सफल भए व्यावसायिक रूपमा अक्सिजन सिलिन्डर उत्पादन गर्न विभिन्न उद्योग र व्यावसायिक घरानाले प्रस्ताव राखेको नास्टका फ्याकल्टी प्रमुख रवीन्द्र ढकालले बताए ।

‘पहिलो चरणको सिलिन्डर परीक्षणमा आंशिक सफलता हासिल गरेका छौं,’ उनले भने, ‘केही दिनमै दोस्रो चरणको परीक्षण गर्ने तयारी छ ।’ नास्टले पहिलो चरणमा गरेको परीक्षणमा अक्सिजन सिलिन्डरले आवश्यक चाप थेग्न सक्ने प्रमाणित भएको थियो । परीक्षणका क्रममा सिलिन्डरमा राखिएको भल्भ लिकेज भएको थियो ।

पहिलो चरणमा एउटा मात्रै सिलिन्डरको प्रोटोटाइप तयार पारी परीक्षण गरिएकोमा दोस्रो चरणमा भने तीन वटा सिलिन्डरको प्रोटोटाइप तयार पारिने ढकालले जानकारी दिए । ‘एउटा मात्रै सिलिन्डर परीक्षण गरेर विश्वसनीय हुँदैन,’ उनले भने, ‘दोस्रो चरणको परीक्षणका लागि थप तीन वटा सिलिन्डरको प्रोटोटाइप तयार हुँदै छ ।’ सबै चरणको परीक्षण सफल भएपछि निजी क्षेत्रलाई पनि अक्सिजन सिलिन्डर उत्पादनका लागि स्पेसिफिकेसन उपलब्ध गराउने नास्टको तयारी छ ।

कोभिड–१९ को संक्रमण बढेका बेला देशभर अक्सिजन सिलिन्डरको अभाव भएपछि नास्टले सिलिन्डर तयार पारी परीक्षण गरेको हो । अक्सिजन सिलिन्डरले १ सय ५० केजी प्रतिवर्गसेन्टिमिटर चाप (प्रेसर) खेप्नुपर्ने मापदण्ड छ । नास्टले गरेको परीक्षणका क्रममा नेपालमा तयार पारिएको अक्सिजन सिलिन्डरको प्रोटोटाइपले २ सय ३५ प्रतिवर्गसेन्टिमिटरसम्म चाप धानेको थियो । कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot