Logo

संसद नहुँदा कस्लाई घाटा कस्लाई फाइदा



काठमाडौं, ११ जेठ । प्रतिनिधि सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक विघटन गराइकेका छन् । ५ पौष २०७७ मा गरेको विघटनलाई ११ फागुनको सर्वोच्च अदालतको फैसलाले असंवैधानिक ठहर गरी पुनःस्थापना गरेको थियो । ओलीले त्यसपछि राजीनामा दिई पुनः अल्पमतको सरकारको प्रधानमन्त्री बनी प्रक्रिया मिलाएर ७ जेठको मध्यराति प्रतिनिधि सभा विघटन गराए ।

रोचक पक्ष यो छ कि प्रतिनिधि सभा विघटनबाट सबैभन्दा बढी नोक्शान ओलीलाई नै छ । यो प्रतिनिधि सभाले ओलीलाई दुई तिहाईको सरकारको प्रधानमन्त्री बनायो । तीन वर्षभन्दा बढी कार्यकाल ओली प्रधानमन्त्री भइसकेका छन् ।

विघटित प्रतिनिधि सभामा पनि ओली नै सबैभन्दा बलिया थिए । २६७ सांसदमध्ये एमालेका १२१ सांसद थिए ।

अहिले प्रतिनिधि सभा विघटनको सबैभन्दा नोक्शान ओलीलाई नै हुने देखिन्छ । उनले तत्काल सत्ता संकट टार्न प्रतिनिधि सभालाई विघटनतर्फ धकेलेपनि उनका लागि यो केही महिनामात्रको फाइदा हुनसक्छ ।

प्रतिनिधि सभा विघटन हुँदाको फाइदा काँग्रेस सभापति शेरबहादुर देउवाले देखेका छन् । उनी विगतमा पनि मध्यावधि चुनावको पक्षमा थिए । काँग्रेस प्रतिपक्षमै सिमित हुँदा देउवा अर्को चुनावको पर्खाइमा थिए । मध्यावधि घोषणासँगै काँग्रेसको महाधिवेशन पनि अन्यौलग्रस्त भएको छ । देउवा महाधिवेशन केही पछाडि धकेलेर यही कार्यकालमा चुनावमा जाने चाहना राख्थे ।

यो प्रतिनिधि सभाको कार्यकालमा आफू प्रधानमन्त्री बन्न नसक्ने प्रचण्ड र माधवकुमार नेपालले निष्कर्ष निकालिसकेका छन् । त्यसैले उनीहरु ओलीको विकल्पमा देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै आएका थिए । त्यसैले यो प्रतिनिधि सभा विघटनले प्रचण्ड र नेपाललाई फाइदै देखिन्छ ।

कमल थापा प्रतिनिधि सभा विघटनबाट खुशी छन् । उनले विघटनको पक्षमा बोल्दै आएका छन् । अर्ली इलेक्शन थापाको माग रहँदै आएको थियो । जुन पूरा भएको छ ।
प्रतिनिधि सभा विघटनको पक्षमा जनता समाजवादी पार्टीका नेताहरु पनि देखिएका छन् । महन्थ ठाकुर अर्ली इलेक्शनमा जोड दिदै आएका थिए । बाबुराम भट्टराई पनि अर्ली इलेक्शनकै पक्षमा थिए । प्रतिनिधि सभा विघटनपछि देश मध्यावधिमा गएको छ । यसको विरोधमा शतहमा जो जो देखिएपनि उनीहरुलाई नै यो कदमले पछिको फाइदा हुने देखाएको छ । विघटनको मुख्य नोक्शान भोग्ने ओली नै हुनेछन् ।

अब मध्यावधि चुनाव भइहालेमा या हुन नसकेमा ओलीले नै धक्का खान सक्छन् । विगतमा माओवादीसँग गठबन्धनबाट ओलीले चुनावी सफलता हासिल गरेका थिए । तर, यसपटक एमाले नै विभाजन हुने अवस्थामा छ । विभाजित अवस्थामा चुनावमा जाँदा भोग्नुपर्ने नतिजाबारे ओली जानकार नै होलान् । यसकारण अबको राजनीति झन् अस्थिरतातर्फ धकेलिने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot