Logo

कार्यकारिणी समितिमा उपेन्द्रलाई अल्पमतमा पार्न अशोक राईलाई फकाउँदै महन्थ-राजेन्द्र



काठमाडौं, ११ जेठ । जनता समाजवादी पार्टी, नेपालभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो वर्तमान सरकारमा सहभागी हुनेगरि सक्रिय भएका छन् । तर, अर्का अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी भए पार्टीबाटै निश्काषन गरिने चेतावनी दिईसकेका छन् । संसदीय दलमा ठाकुर पक्ष बहुमतमा छन । उता, कार्यकारिणी समितिमा यादव पक्ष बलियो छ ।

जसपाको निर्णायक कमिटी भनेको नै कार्यकारिणी समिति हो । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्षको ३० भन्दा बढि सदस्य रहेको बुझिएको छ । ठाकुर पक्षले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउँदै आएको छ । मुद्दा फिर्ता र नागरिकतासम्बन्धी महत्वपूर्ण माग प्रधानमन्त्री ओलीले सम्बोधन गरेको भन्दै ठाकुर पक्ष सरकारमा सहभागी हुने कसरतमा छ ।

यसको लागि ओलीसँग ठाकुर र महतोले मन्त्रालयको संख्यापनि टुँगो लगाएका छन् । स्रोतकाअनुसार ८ वटा मन्त्रालय पाउनेगरि जसपाको ठाकुर पक्ष आज भोलिभित्रै सरकारमा सहभागी हुन चाहेको छ । महतोको नेतृत्वमा सरकारमा जाने तयारी भएको छ । तर, यसबारे टुँगो भने लागिसकेको छैन् । महतोले गृहमा दाबी गरेका छन् । तर, प्रधानमन्त्री उनलाई गृह दिन तयार छैनन् । बरु, अनिल झालाई गृहमन्त्री बनाउनेबारे सोच्न सकिने ओलीको वचन छ ।

सरकारमा जाने तयारी थालेसँगै ठाकुर पक्षले उपेन्द्र यादवनिकट नेता अशोक राईलाई फकाउन थालेको पनि पाईएको छ । यादवलाई कार्यकारिणी समितिमा अल्पमतमा पार्नको लागि राईलाई आफूतिर तान्न ठाकुर पक्षले गृहकार्य गरेको छ । उनीहरु पछिल्ला दिन निरन्तर राईसँग छलफलमा रहेको स्रोतको दाबी छ । राई पूर्व एमाले नेता हुन । उनीसँग एमालेकै केही प्रभावशाली नेताहरुले पनि छलफल गरेको बुझिएको छ । कार्यकारिणी समितिमा राईले साथ दिने बित्तिकै आफूहरु बहुमतमा पुग्ने ठाकुर महतो पक्षको दाबी छ । बरु, राईले सहयोग गरे उनलाई दुई वटा मन्त्रालय दिन सकिने पनि उनीहरुको प्रस्ताव छ ।



प्रतिक्रिया दिनुहोस्